ट्याक्टरसहित लालबन्दी नगरपालिका घेराउ गर्न पुगेका व्यवसायी (तस्बीर : जनार्जन खत्री/उज्यालो अभियान)
लालबन्दी – लालबन्दी नगरपालिका क्षेत्रका ट्याक्टर व्यवसायी नगरपालिका कार्यालय घेराउ गर्न पुगेका छन् ।
नगरपालिकाले खोला खुल्ला नगर्दा गिट्टी, बालुवा र ढुंगा उठाउन नपाएको भन्दै व्यवसायी आज बिहान १० बजेदेखि नै नगरपालिका घेराउ गर्न पुगेका हुन् । आ–आफ्नो ट्याक्टर नै लिएर व्यवसायी नगरपालिका पुगेका छन् ।
ट्याक्टर व्यवसायी प्रमोद थपलियाले असार, साउन र भदौ ३ महिना खोला बन्द हुने नियम नै भएपनि त्यसपछि पनि नगरपालिकाले खोला ठेक्का लगाउन नसक्दा व्यवसायी मारमा परेका बताए । ६ महिनादेखि ट्याक्टर, टिपरलगायत सबै साधन थन्काएर राख्नुपर्दा व्यवसायी बर्बाद भइसकेका उनको गुनासो छ ।
नगरपालिकाले तत्काल खोला खोल्ने कदम नचाले आफूहरु नगरपालिकामै ट्याक्टर बुझाएर फर्किने थपलियाले उज्यालो अभियानसँग बताए । ६ महिनादेखि खोला बन्द भइरहँदा ट्याक्टर तथा टिपर व्यवसायी, घर निर्माण गर्ने सर्वसाधारण र हार्डवेयर व्यवसायी सबै प्रभावित भएको गुनासो बढेको छ ।
लुकिछिपी केही ट्याक्टरले गिट्टी, बालुवा उठाइरहे पनि प्रहरीले कडाई गरेर कतिपय सवारीलाई नियन्त्रणमा लिने गरेको छ । लालबन्दी नगरपालिकाले कालिन्जोर, लखन्देहीलगायत कुनै पनि खोला ठेक्का लगाउन सकेको छैन् ।
अहिले नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । नगर उपप्रमुख कल्पनामाया पाख्रिनले आफू अहिले नगरपालिका कार्यालयमा ट्याक्टर व्यवसायीहरुसँगै रहेको बताईन् । नगरप्रमुख कार्यालय आउँदै गरेका र उनी आएपछि व्यवसायीसँगै बसेर छलफल गरिने उपप्रमुख पाख्रिनले उज्यालो अभियानसँग बताईन् ।