ट्याक्टरसहित लालबन्दी नगरपालिका घेराउ गर्न पुगेका व्यवसायी (तस्बीर : जनार्जन खत्री/उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाले खोला ठेक्का नलाग्दासम्म कालिन्जोर खोलाको रन्जितपुर क्षेत्र र लखन्देही खोलाको हीरापुर क्षेत्रबाट गिट्टी, बालुवा उठाउन दिने सहमती गरेको छ ।
६ महिनादेखि खोला बन्द हुँदा आफूहरुको व्यवसाय सबै डामाडोल भएको भन्दै लालबन्दीका ट्याक्टर व्यवसायी आज (बिहीबार) बिहान ट्याक्टर नै लिएर नगरपालिका कार्यालयमा धर्ना दिन पुगेका थिए । ट्याक्टर व्यवसायी प्रमोद थपलियाले असार, साउन र भदौ ३ महिना खोला बन्द हुने नियम नै भएपनि त्यसपछि पनि नगरपालिकाले खोला ठेक्का लगाउन नसक्दा व्यवसायी मारमा परेका बताए ।
६ महिनादेखि ट्याक्टर, टिपरलगायत सबै साधन घरमा थन्काएर राख्नुपर्दा व्यवसायी बर्बाद भइसकेका उनको गुनासो छ । खोला बन्द भइरहँदा ट्याक्टर तथा टिपर व्यवसायी, घर निर्माण गर्ने सर्वसाधारण, काम गर्ने मजदुर, ठेकेदार र हार्डवेयर व्यवसायी सबै प्रभावित भएको गुनासो बढेको छ ।
लुकिछिपी केही ट्याक्टरले गिट्टी, बालुवा उठाइरहे पनि प्रहरीले कडाई गरेर कतिपय सवारीलाई नियन्त्रणमा लिइ जरिवाना तिराएको छ । ट्याक्टरसहित नगरपालिकाको गेटमा धर्ना दिन पुगेका व्यवसायीसँग नगरप्रमुख बासुदेव अधिकारीले छलफल गरी तत्कालका लागि साबेलले उठाएर रन्जितपुर र हीरापुर घाटबाट गिट्टी, बालुवा उठाउन दिने सहमती गरेका हुन् ।
नगरप्रमुख अधिकारीले मजदुरको रोजीरोटी नै ठप्प भएको गुनासो आएपछि १०/१५ दिन ठेक्का नलाग्दासम्म साबेलले उठाएर कुनै प्रभाव नपर्ने गरी गिट्टी र बालुवा निकाल्न दिने निर्णय गरिएको उज्यालो अभियानसँग बताए ।
नगरप्रमुख अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, कर्मचारी, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्चार्ज एवं प्रहरी निरीक्षक हरिबोल के.सी., ट्याक्टर व्यवसायीलगायत बसेर तत्काल दुई ठाउँबाट उत्खनन गर्ने सहमती गरिएको हो ।
गिट्टी, बालुवा लिन जाने ट्याक्टरसँग नगरपालिकाले तत्कालका लागि अमानतमा राजस्व सङ्कलन गर्ने छ ।
लालबन्दी नगरपालिकाले कालिन्जोर, लखन्देहीलगायत कुनै पनि खोला ठेक्का लगाउन सकेको छैन् । नगरप्रमुख अधिकारीले प्रदेश सरकार समक्ष पठाइएको वातावरण प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत भएर नआउँदा खोला ठेक्का लाग्न नसकेको दावी गरेका छन् ।