(तस्बीर : उज्यालो अभियान)
हरिपुर – नापी कार्यालय मलंगवाले आज (मंगलबार) सर्लाहीको बरहथवा र हरिपुरका ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
वर्षौदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आएका ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएको हो । बरहथवा नगरपालिकाको वडा नं. ११ हीरापुर र वडा नं. १३ लौकठका ५३ परिवारलाई सदरमुकाम मलङ्गवास्थित नापी कार्यालयमै बोलाएर पुर्जा हस्तान्तरण गरिएको कार्यालय प्रमुख संजय मानन्धरले जानकारी दिए ।
प्रमुख नापी अधिकृत मानन्धर, मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवलगायत भएर लालपुर्जा वितरण गरेका हुन् । बरहथवामा केही महिनाअघि वितरण गर्दा छुट भएका परिवारलाई आज पुनः कार्यक्रम गरेर पुर्जा वितरण गरिएको कार्यालय प्रमुख मानन्धरले उज्यालो अभियानसँग बताएका छन् ।
त्यसैगरी, आज नै हरिपुर नगरपालिका वडा नं. २ कछडिया टोल, वडा नं. ७ चिताइन र पचगछिया टोल र वडा नं. ८ को जगतपुर तथा हात्तीसारका ३९ परिवारलाई हरिपुर नगरपालिकाको सभा हलमा कार्यक्रम गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । हरिपुरमा नगरप्रमुख गोपाल पंजियार, प्रमुख नापी अधिकृत मानन्धर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्की, हरिपुर २, ७, ८ र ९ का वडाध्यक्षहरु क्रमश : निलबिक्रम थापा, मनोजकुमार चौधरी, हरिबहादुर थापा र विश्वनाथ राय भएर लाभग्राही परिवारलाई पुर्जा हस्तान्तरण गरेका हुन् ।
वर्षौको प्रतिक्षापछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्दा स्थानीय खुसी भएका छन् । ३३ वर्षअघि नै नाप भएको जग्गाको लालपुर्जा पाउँदा अत्यन्त खुसी लागेको हरिपुर नगरपालिका–७, पचगछिया टोलकी भेदरी चौधरीले उज्यालो अभियानसँग बताईन् ।
गाउँब्लक जग्गाको लालपुर्जा पाएसँगै स्थानीयले अब आर्थिक समस्या भएको बेला बैङ्कमा जग्गा धितो राखेर ऋण लिन पाउँछन् भने किनबेचमा पनि सहजता भएको छ ।