अत्रौली मा.वि. मा प्रार्थना गर्दै गरेका विद्यार्थी । (फाइल तस्बीर)
अत्रौली – सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा रहेको रामअवतार जनता माध्यमिक विद्यालयमा आज (सोमबार) घारेले टोकेर ३५ जना विद्यार्थी बिरामी परेका छन् ।
बिहान विद्यालयमै कोचिङ कक्षा गएका विद्यार्थीलाई घारेले चिलेर घाइते बनाएको विद्यालयका प्रधानाध्यापक निरन्जन कार्कीले उज्यालो अभियानसँग बताए । उनका अनुसार घारेले टोकेकामध्ये १० जना विद्यार्थी र विद्यालयका विज्ञान शिक्षक वसन्त घिसिङलाई उपचार नै गर्नुपरेको छ । उनीहरु सबै नवलपुरस्थित एक अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।
विद्यालयसँगै रहेको बरको बोटमा रहेको घारेको गोलामा बाजले आक्रमण गरेपछि घारे बिच्किएर बिहानै कोचिङ पढ्न विद्यालय पुगेका विद्यार्थीलाई आक्रमण गरेको हो । सो घटनापछि विद्यालयमा केहीबेर भागदौड नै मच्चियो ।
बिच्किएका घारे विद्यालय वरपर नै घुमिरहेकाले आजलाई विद्यालयको पठनपाठन नै बन्द गर्नुपरेको प्रधानाध्यापक कार्कीले बताए । वडाध्यक्ष अर्जुनकुमार योन्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादर ठोकर, प्रधानाध्यापक कार्कीलगायतले सुरक्षितसाथ विद्यालय क्षेत्रको अनुगमन गरेपछि नगरपालिकाको शिक्षा शाखासँग अनुमति लिएर विद्यालय बन्द गरिएको हो ।
आज बेलुकासम्म स्थानीय युवासँग सहयोग लिएर घारे नष्ट गरी भोलीबाट पठनपाठन सूचारु गरिने प्रधानाध्यापक कार्कीले बताए ।