अध्यक्षमा विजयी भएका पुरुषोत्तम प्रसाद पौडेल ।
रानिगन्ज – रानिगन्ज खानेपानी मूल उपभोक्ता समितिको अध्यक्षमा पुरुषोत्तम प्रसाद पौडेल विजयी भएका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेसको एउटा समूह र माओवादी केन्द्रको साझा उम्मेदवार रहेका एमाले नेता पौडेल २९५ मत प्राप्त गरी अध्यक्षमा चुनिएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसको अर्को समूहका उम्मेदवार भरतबहादुर थापाले २४३ र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हिराबहादुर घिमिरेले ८२ मत प्राप्त गरेका निर्वाचन समितिले जनायो ।
उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पौडेलको प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा पौडेल समूहका डुकेन्द्र कुमार बस्नेत ३३३ मत ल्याइ बिजयी हुँदा उनका प्रतिस्पर्धी थापा प्यानलका वुद्धिमाया थिङले २६० मत मात्र प्राप्त गरे ।
यस्तै, सचिवमा पौडेल समूहका कुमार प्रसाद भट्टराई ३२५ र कोषाध्यक्षमा पौडेलकै प्यानलका अम्बरबहादुर कार्की ३२९ मत ल्याई बिजयी भएका छन् । थापा समूहबाट सचिवका उम्मेदवार टेकबहादुर श्रेष्ठले २५७ र कोषाध्यक्षमा तिर्थमान लोप्चनले २५७ मत मात्रै प्राप्त गरे ।
रानिगन्ज खानेपानीको चार जना मुख्य पदाधिकारी चयन गर्न हिजो बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म खानेपानी कार्यालयकै प्राङ्गणमा मतदान भएको थियो । मतदानमा खानेपानीका ८८३ उपभोक्तामध्ये ६५५ जनाले मतदान गरेका थिए ।
गएसाँझबाट मतगणना सुरु गरी राति १२ बजेतिर मतगणना सम्पन्न गरिएको निर्वाचन समितिका संयोजक चेतप्रसाद तिमल्सिनाले जानकारी दिए । रानिगन्ज खानेपानीका १५ जना कार्य समिति सदस्यमध्ये ९ जना सदस्य मंसिर ९ गते शनिबार भएको साधारण सभाकै दिन निर्विरोध चयन भएका थिए ।
सहमती हुन नसकेको ४ जना पदाधिकारी भने मतदानबाट चयन गरिएको हो । अब बाँकी २ जना सदस्य निर्वाचित समितिको बैठक बसेर मनोनयन गरिने छ ।
स्थानीयका अनुसार रानिगन्ज खानेपानीको ईतिहासमा पहिलो पटक चुनाव गरेर पदाधिकारी चयन गरिएको हो । यसअघि प्रत्येक पटक भेलाबाटै सर्वसम्मत रुपमा चयन हुने गरेको थियो ।