logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रानिगन्ज खानेपानी चुनाव : ८८३ उपभोक्तामध्ये ६५५ जनाले मतदान गरे, ७ बजेपछि मतगणना


  • उज्यालो अभियान

मतगणनाका लागि तारजाली हालेर बनाइएको मतगणना स्थल ।

रानिगन्ज – रानिगन्ज खानेपानी मूल उपभोक्ता समितिको नेतृत्व चयन गर्न आज (आइतबार) भएको मतदानमा ६५५ जनाले मतदान गरेका छन् ।

लालबन्दी नगरपालिका १७ रानिगन्जमा रहेको यस खानेपानी आयोजनाका ८८३ जना उपभोक्ता अर्थात् मतदाता रहेकोमा आज बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म भएको मतदानमा ६५५ जनाले मतदान गरेका हुन् । खानेपानीकै कार्यालयमा मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको र साँझ ७ बजेदेखि मतगणनाको तयारीमा लागेको निर्वाचन समितिका संयोजक चेतप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार खानेपानी कार्यालयभित्रै तारजालीसहित मतगणना स्थल बनाइएको छ ।

कुनै वादविवाद नआए आजै रातभरमा मतगणना सकेर अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक तिमल्सिनाले बताए । रानिगन्ज खानेपानी मूल उपभोक्ता समितिको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा पुरुषोत्तम प्रसाद पौडेल, भरतबहादुर थापा र हिराबहादुर घिमिरेको उम्मेदवारी परेको छ ।

अध्यक्षका उम्मेदवार घिमिरेको तर्फबाट अध्यक्षमा मात्रै उम्मेदवारी परेको छ । पौडेल र थापाले भने प्यानलसहित उम्मेदवारी दिएका छन् । पौडेलको प्यानलबाट उपाध्यक्षमा डूकेन्द्र कुमार बस्नेत, सचिवमा कुमार प्रसाद भट्राई र कोषाध्यक्षमा अम्बरबहादुर कार्कीको उम्मेदवारी परेको छ ।

त्यस्तै, थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमाया थिङ, सचिवमा टेकबहादुर श्रेष्ठ र कोषाध्यक्षमा तिर्थमान लोप्चनको उम्मेदवारी परेको छ । रानिगन्ज खानेपानीको १२ औँ साधारण सभाको उद्घाटन सत्र मंसिर ९ गते शनिबार नै सम्पन्न भएको थियो ।

खानेपानीको कार्य समिति १५ सदस्यीय हुन्छ । १३ जना निर्वाचन प्रक्रियाबाट छानिएर आउँछन् । ती १३ जनामध्ये ९ जना सदस्य निर्विरोध चयन भइसकेका छन् ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ४ जना पदाधिकारीका लागि मतदान नै भएको हो । बाँकी २ जना सदस्य निर्वाचित समितिले पछि बैठक बसेर मनोनयन गर्ने व्यवस्था छ ।

रानिगन्ज खानेपानीको ईतिहासमा पहिलो पटक मतदान भएको स्थानीय उपभोक्ताले बताएका छन् ।