logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामै यातायात व्यवस्था कार्यालय खुल्यो


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ ।

मलंगवास्थित जिल्ला समन्वय समिति अर्थात् साबिकको जिल्ला विकास समिति (जिविस) को कार्यालय रहेको भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो । कार्यालयको आज (आइतबार) दिउँसो मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

सदरमुकाम मलङ्गवामै यो कार्यालय स्थापना भएसँगै सर्लाहीका स्थानीयले अब यातायात सम्वन्धी सेवा लिन बर्दिवास, जनकपुर, वीरगन्जलगायत ठाउँमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब (ब्लु बुक) दर्ता तथा नवीकरण, रुट परमिटलगायतका सेवा प्रदान गरिने यातायात व्यवस्था कार्यालय मलंगवाका प्रमुख राकेश यादवले जानकारी दिए ।

कार्यक्रममा निवर्तमान रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, मधेश प्रदेश सभाका सदस्यहरु कौशलकिशोर राय, जङ्गिलाल राय र उपेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतको आतिथ्यता रहेको थियो । वक्ताहरुले जिल्लामै यातायात व्यवस्था कार्यालय खुलेको प्रति खुसी व्यक्त गर्दै सरल र सहज हिसाबले सेवा प्रवाह गर्न सुझाव दिएका छन् ।

मधेश प्रदेशका आठ जिल्लामध्ये सर्लाहीमा सातौँ कार्यालयको रुपमा यातायात व्यवस्था कार्यालय स्थापना भएको हो । कार्यालय खुल्न बाँकी रहेको बारा सदरमुकाम कलैयामा पनि केही समयभित्रै कार्यालय स्थापना गर्ने तयारी रहेको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले जनायो ।

मलंगवाको कार्यालय प्रदेश स्तरको भएपनि यसले देशभरका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कार्यालय प्रमुख यादवको भनाई छ । उनका अनुसार आइतबार औपचारिक रुपमा कार्यालय स्थापना गरिए पनि सेवा प्रवाह सुरु गर्न केही दिन लाग्ने छ ।

आफू तत्कालै काठमाडौँ पुगेर यातायात व्यवस्था विभागबाट यूजर तथा पासपोर्ट लिएर आउने र सम्भव भएसम्म यसै हप्ताभित्र सेवा प्रवाह सुरु गर्ने यादवले बताए । उनका अनुसार कार्यालयको तत्काल आफ्नै सरकारी ट्रायल सेन्टर नभएकाले जिल्लाभर कहिँकतै निजी ट्रायल सेन्टरसँग समन्वय गरिने छ ।

जग्गा प्राप्त भएपछि आफ्नै ट्रायल सेन्टर निर्माण गर्न बजेट माग गरिने कार्यालय प्रमुख यादवले जानकारी दिए ।