प्रतिकात्मक तस्बिर ।
हरिवन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, पुरानो चौकीमा गएसाँझ भएको सवारी दुर्घटनामा ज्यान गुमाउने युवक ईश्वरपुरका रहेको खुलेको छ ।
गएसाँझ ७ बजेपछि पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश नं. २–०३–००६ प ६७ नम्वरको मोटरसाइकल र इलाका प्रहरी कार्यालय कर्मैयाबाट गस्तीमा रहेको विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । दुईवटा मोटरसाइकल ठोक्किएपछि प्रदेश नं. २–०३–००६ प ६७ नम्वरको मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–५, सखुवनीका २९ वर्षीय सुनिल लामा सडकमा पछारिँदा काठमाडौँ हिडेको ना ७ ख १८३६ बसले किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरीले जानकारी दिए ।
गिरीका अनुसार आज बिहान मृतकका परिवार आएर शवको सनाखत गरेका हुन् । परिवार शव बुझ्न सदरमुकाम मलंगवा गएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५, सखुवनीकै २१ वर्षीय रमेश महतो घाइते भएका छन् । दुर्घटनामा इलाका प्रहरी कार्यालय कर्मैयाका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) नारायण दाहाल र प्रहरीको मोटरसाइकल चालक प्रहरी हवल्दार रामशरण न्यौपाने पनि घाइते भएका प्रहरी निरीक्षक गिरीले बताए ।
घाइते रमेश महतो र प्रहरी हवल्दार रामशरण न्यौपानेको लालगढ अस्पताल, धनुषामा उपचार भइरहेको छ । वरिष्ठ सई दाहालको अवस्था भने सामान्य छ । दुर्घटनामा परेको दुवै मोटरसाइकल, बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।