भवानीपुर – सर्लाहीको बसबरिया गाउँपालिकामा २० जना क्षयरोगी फेला परेका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर र बागमती सेवा समाजको सहयोगमा शङ्कास्पद क्षयरोगीहरुको स्क्रिनिङ्ग क्याम्प सञ्चालन गर्दा २० जना क्षयरोगी फेला परेका हुन् । मङ्सिर १३ गतेदेखि १६ गतेसम्म चारवटा स्वास्थ्य चौकीमा पालैपालो स्क्रिनिङ्ग क्याम्प राखी समुदायस्तरमा खकार परीक्षण गर्दा २० जना क्षयरोगी (टिबीका बिरामी) फेला परेका गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक एवं सिनियर अ.हे.ब जयलाल सहनीले जानकारी दिए ।
उनका अनुसार सहोडवामा छ जना, धनगढामा चार जना, भवानिपुर र मानपुरमा पाँच÷पाँच जना क्षयरोगी फेला परेका हुन् । केही दिनअघि बसबरिया गाउँपालिका–१, मानपुरमा एकैपटक तीन बालबालिकामा क्षयरोग पुष्टी भएको मानपुर स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र यादवले बताए ।
क्षयरोगका बिरामीलाई स्थानीय स्तरमै नियमित हेरचाह तथा स्वास्थ्य चौकीबाट निःशुल्क औषधिको प्रवन्ध मिलाइएको स्वास्थ्य शाखा संयोजक सहनीले बताए ।