हरिपूर्वामा अलपत्र रहेको विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)
हरिपूर्वा – नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको दक्षिण–पूर्वी भेग हरिपूर्वामा निर्माण गरेको सवस्टेशन अलपत्र परेको छ ।
प्राधिकरणले हरिपूर्वा नगरपालिका वडा नं. २ मा निर्माण गरेको सवस्टेशन पोल गाड्ने विषयमा विवाद हुँदा सञ्चालनमा आउन नसकेको हो । ११ केभी लाइनको बाँकी रहेका २०/२२ वटा पोल गाड्ने विषयमा विवाद हुँदा एक वर्षअघि नै निर्माण पूरा भएको सवस्टेशन अलपत्र परेको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।
अनियमित विद्युत् कटौति र भोल्टेज नै नआउने समस्याले हैरान भएका हरिपूर्वासहित पूर्वी भेगका वासिन्दा सवस्टेशन संचालनमा आएपछि ती समस्या समाधान हुने आशमा बसेका छन् । तर, पोल गाड्ने विषयमा विवाद भइ शवस्टेशन नै अलपत्र परेपछि स्थानीय अहिले निराश बनेका छन् ।
हरिपूर्वा नगरपालिका–२, सञ्जय मण्डलले छिनछिनमै बत्ती गइरहने र भोल्टेज नआउने समस्या लामो समयदेखि झेल्दै आएको बताए । “विद्युत्को त यहाँ घरिघरी समस्या आइरहेकै हुन्छ, कहिले भोल्टेज हुँदैन, कहिले बारम्बार बत्ती कटिरहन्छ,“ मण्डलले उज्यालो अभियानसँग गुनासो गर्दै भने, “गाउँमै पावर हाउस बनेको छ तर अनेक बहानामा चालू भइरहेको छैन् ।”
सवस्टेशन संचालन गर्न स्थानीय सरकार र यस क्षेत्रका सांसदले चासो नदिँदा सास्ती खेप्नु परेको मण्डलले गुनासो गरेका छन् । हरिपूर्वा बजार क्षेत्रबाट सवस्टेशनसम्म बस्ती हुँदै तार लाने वा बस्तीदेखि पूर्व खेतैखेत लाने भन्नेमा विवाद छ ।
समाचार स्रोतका अनुसार यस विषयमा हरिपूर्वा नगरपालिकाका मेयर विनोद कुमार साह तेली र सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवबीच टकराब छ ।
हरिपूर्वा नगरपालिका–२, का वडाध्यक्ष दिनेश राय यादवले पुरानो सर्भे अनुसार बिजुलीको खम्बा नगाडिँदा विवाद उत्पन्न भएको उज्यालो अभियानसँगको कुराकानीमा बताए । “पुरानो सर्भे अनुसार लैजाँदा गाउँपर्छ, नयाँ सर्भे अनुसार लैजाँदा खेत छ,” वडाध्यक्ष यादवले भने, “कताबाट तार लैजाने भन्ने विवादले समस्या भएको हो ।”
नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादवले सवस्टेशन निर्माणको काम पूरा भएपनि स्थानीय विवादकै कारण संचालन गर्न नसकिएको जानकारी दिए । “सवस्टेन निर्माणको काम पूरा भइसकेको छ, स्थानीय स्तरको विवादले गर्दा २०/२२ वटा पोल गाड्न नसकेर सवस्टेशन संचालनमा ल्याउन सकेका छैनौँ,” वितरण केन्द्र प्रमुख यादवले भने ।
आफूले नयाँ आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलासँग समन्वय गरिरहेको र चाँडै नै सवस्टेशन संचालनमा ल्याउने प्रयास जारी राखेको यादवले बताए । उनका अनुसार हरिपूर्वा सवस्टेशन संचालन नहुँदा मलङ्गवा वितरण केन्द्र अन्तर्गतको सवस्टेशन ओभरलोडमा संचालन गर्नुपरेको छ ।
ओभरलोडका कारण ३३ केभी लाइन बारम्बार ‘डिस्टर्ब’ हुने, तार चँुडिएर खस्ने, जम्पर कट्ने जस्ता समस्या आइरहेको वितरण केन्द्र प्रमुख यादवले बताए । “हरिपूर्वा क्षेत्रका जनतालाई त बिजोक नै छ, गर्मीयाममा त्यस क्षेत्रमा भोल्टेज नभएर कुनै विद्युतीय उपकरण चल्दैन्,” वितरण केन्द्र प्रमुख यादवले उज्यालो अभियानकर्मी श्रवण थापासँगको भने, “यि समस्या समाधानकै लागि प्राधिकरणले कार्यक्रम ल्याएर सवस्टेशन बनाएको हो तर स्थानीय बाधाविरोधले गर्दा सवस्टेशन संचालन हुन सकेको छैन् ।”
पोल गाड्ने विवादका कारण सवस्टेशन संचालन नहुँदा सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मरसहित अन्य उपकरण बेवारिसे झैँ बनेका छन् ।