logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपूर्वामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइयो, आउने/नआउने अन्योल कायमै


  • उज्यालो अभियान

हरिपूर्वा नगरपालिकाको कार्यालय । (तस्बीर : उज्यालो अभियान)

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

गएको असोज १८ गते हाजिर भएको २४ घण्टामै उपसचिव शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत पद खाली थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल शंखरापुर नगरपालिका, काठमाडौँमा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव बासुदेव खनाललाई हरिपूर्वामा सरुवा गरेको हो ।

खनालको नियुक्तिपछि हरिपूर्वा नगरपालिकाका मेयर विनोद कुमार साह तेली काठमाडौं गएका छन् । उनले खनाललाई ल्याउन आफू काठमाडौँ पुगेको शुक्रबार दिउँसो उज्यालो अभियानसँग बताए ।

नियुक्ति पाएका खनाल भने अहिले चीन भ्रमणमा रहेको र ४ दिन बाटोको म्यादसहित २१ दिनभित्र नगरपालिकामा हाजिर हुने जानकारी सामान्य प्रशासन मन्त्रालयले दिएको छ । तर, खनाल पनि हरिपूर्वा आउन तयार हुने कि नहुने भन्ने निश्चित छैन ।

मन्त्रालयले कुनै छलफल नगरी सरुवा गरेकाले खनालले हरिपूर्वा आउन नमान्ने डर नगरपालिकाका जनप्रतिनिधिहरुलाई छ । खनाल सम्पर्कमा नआएकाले फेरि प्रमुख प्रशासकीय अधिकृतको समस्या हल नहुने देखिएको मेयर साहको भनाई छ ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा हरिपूर्वा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट नै ल्याउन सकेको छैन । शिक्षकहरुले गएको साउनदेखि तलब नपाएपछि आन्दोलन सुरु गरी विद्यालयमै बन्द गरेर नगरपालिकामा धर्ना दिएर बसेका छन् ।

विकासको काम पनि ठप्प छ । तर, प्रमुख प्रशासकीय अधिकृतको खटनमा राजनीति हाबी हुँदा नगरपालिकाको सेवा प्रवाह नै ठप्प बन्न पुगेको छ ।