बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिकामा शंकास्पद क्षयरोगी (टिबी) को स्क्रिनिङ्ग क्याम्प अर्थात् शिविर आयोजना गरिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले बागमती सेवा समाज नेपालसँग समन्वय गरी क्षयरोगी पत्ता लगाउन चारवटा स्वास्थ्य चौकीमा शिविर राखेको हो । शिविर आयोजना गर्न राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले पनि सहयोग गरेका छन् ।
हिजो बुधबार सहोडवा स्वास्थ्य चौकी र आज धनगढा स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको छ । अब भोली मानपुर स्वास्थ्य चौकी र पर्सी शनिबार भवानीपुर स्वास्थ्य चौकीमा शिविर राखिने छ ।
४ दिने यो शिविरबाट गाउँपालिकाभित्र क्षयरोगी पत्ता लगाउन सहयोग पुग्ने बसबरिया गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक जयलाल सहनीले जानकारी दिए ।