हरिपूर्वा नगरपालिकाको कार्यालय । (तस्बीर : उज्यालो अभियान)
हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकामा नगर सभा हुन नसक्दा डामाडोलको स्थिति सिर्जना भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा असार १० गतेभित्र गाउँ तथा नगर सभामा बजेट पेस गरी असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर राजनीतिक किचलोका कारण हरिपूर्वा नगरपालिकामा भने नयाँ आर्थिक वर्ष सुरु भएको पाँच महिना लागिसक्दा समेत नगर सभा हुन सकेको छैन् ।
नगर सभाबाट बजेट पारित नहुँदा नगरपालिकामा आर्थिक गतिविधि ठप्प छ । बजेट सञ्चालन नभएर विकास निर्माणका कुनै पनि काम अघि बढ्न सकेका छैनन् ।
ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलालगायत लक्षित बर्गको सामाजिक सुरक्षा भत्ता गएको साउनदेखि नै रोकिएको छ । तलब नपाएर शिक्षक विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमै धर्नामा बसेका छन् भने कर्मचारीको अवस्था पनि उस्तै छ ।
हरिपूर्वा नगरपालिका–५, का स्थानीय रामबाबु साह सोनारले राजनीतिक किचलोका कारण नगरवासी मारमा परेको गुनासो गरे । “अन्य पालिकामा धमाधम विकासका काम भएका छन् तर हाम्रो पालिकामा नेताको लडाइँ छ,” साहले भने “नेता–नेताको हानाथापले हामी नागरिक मारमा परेका छौँ ।”
राजनीतिक टकराबका कारण नगरपालिकामा विकासका काम ठप्प हुँदा स्थानीय निराश बनेका छन् । नगरपालिका कार्यालय अगाडि फलफूल बेच्न बसेका हरिपूर्वा नगरपालिका–६ निवासी वृद्ध रामचरित्र साहले नागरिकको समस्याप्रति जनप्रतिनिधिले ध्यान नदिएको दुःखेसो गरे ।
जनप्रतिनिधिबीचको विवादले नगरपालिका नै डामाडोल बनेको साहको भनाई छ । “यहाँ सँधै यस्तै हो, जहिल्यै विवाद चलिरहन्छ, “साहले भने, “जनताको समस्या समाधान र विकास निर्माणका काम गर्न यिनिहरुलाई चासो छैन्, भागबण्डाका लागि आफू–आफू लडाइँ गरिरहेका छन् ।”
नगर उपप्रमुख सुमित्रा देवी ग्वारनीले नगरसभा हुन नसकेको र प्रमुख प्रशासकीय अधिकृत नभएकोबारे नगरप्रमुखले नै जान्ने बताईन् । “नगर सभा गर्ने÷नगर्ने, को ‘हाकिम’ ल्याउने÷नल्याउने भन्ने कुरा प्रमुखलाई नै थाहा होला ! उपप्रुमख ग्वारनीले भनिन् ।”

उपमेयर सुमित्रा देवी । (तस्बीर : उज्यालो अभियान)
नगरप्रमुखबाट नगरसभाबारे चिठ्ठी काट्ने तथा छलफल गर्ने केही काम नभएको बताईन् । उपप्रमुख ग्वारनीका अनुसार गएको साउनदेखि कार्यपालिकाको बैठक पनि बस्न सकेको छैन् ।
उनले कार्यालयमा भएकै कर्मचारीलाई निमित्तिको जिम्मेवारी दिएर भएपनि तलब, भत्ता खुवाउने बाटो खुलाउनुपर्ने बताईन् । “नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउञ्जेल यहीँका सिनियर कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर भएपनि तलब, भत्ता खुवाउने बाटो गर्नुपर्छ,” उपप्रमुख ग्वारिनी भनिन् ।
उपप्रमुख ग्वारनीसहित नगरप्रमुखसँग असन्तुष्ट पक्षका कार्यपालिका सदस्य नगरपालिकामा कार्यरत आठौँ तहका प्रशासकीय अधिकृत सकलदेव रायलाई निमित्तको जिम्मेवारी दिएर भएपनि प्रमुख प्रशासकीय अधिकृतको गाँठो फुकाउनुपर्ने पक्षमा छन् । तर नगरप्रमुख विनोद कुमार साह तेली भने निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने पक्षमा छैनन् ।
हरिपूर्वा नगरपालिकामा केही महिना टिकेर काम गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने गएको वर्ष चैत १५ गते सरुवा भएर गएदेखि यहाँ काम गर्ने हिसाबले नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । असार अन्तिमतिर उपसचिव निमेश मिश्र हाजिर भएपनि सामाजिक सुरक्षा भत्ता र कर्मचारीलाई तलब वितरणको बाटो खुलाएर उनी केही दिनमै सरुवा गराएर गए ।
त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराएर पठाए पनि कसैको बाटोबाटै त कसैको केही घण्टामै सरुवा भएको छ ।
नगरप्रमुख विनोद कुमार साह तेली सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा खानेपानी मन्त्री महिन्द्र राय यादवले आफू अनुकुलको प्रमुख प्रशासकीय अधिकृत पठाउन नपाउँदा मन्त्रालयले पठाएको अन्य प्रमुख प्रशासकीय अधिकृतलाई बारम्बार बीचबाटै सरुवा गराइदिने गरेको गुनासो गर्छन् ।

मेयर विनोद साह तेली । (तस्बीर : उज्यालो अभियान)
आफूले गएको साउनदेखि पटक–पटक मन्त्रालयमा पुगेर लिखित तथा मौखिक निवेदन दिएर प्रमुख प्रशासकीय अधिकृत ल्याएपनि मन्त्री यादवले कसैलाई यहाँसम्म आउनै नदिएको नगरप्रमुख साहको आरोप छ । “म मन्त्रालयमा कुरा मिलाएर आउँछु तर मन्त्री ज्यूले मान्नु भएन भन्दै प्रमुख प्रशासकीय अधिकृतको तुरुन्त सरुवा रोकिन्छ, ”नगरप्रमुख साहले भने, “मैले त देशभरका जो सुकै उपसचिव पठाइदिनुस् भनिरहेको छु तर कसैलाई पनि आउन दिइँदैन, नगरपालिकालाई बन्धक बनाउने काम भएको छ ।”
प्रमुख प्रशासकीय अधिकृत भइदिए नगरपालिकाभित्रको सम्पूर्ण समस्या समाधान हुने नगरप्रमुख साहको दावी छ । “प्रमुख प्रशासकीय अधिकृत आइदिएर नगरसभा गराइदिए सबै समस्याको समाधान हुन्थ्यो,” नगरप्रमुख साहले भने ।
उनले नगर सभा नहुँदा वडा कार्यालय र नगरपालिकामा कागज समेत नभएर कार्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरे । नगरप्रमुख साहले ठीकठाकसँग चलिरहेको नगरपालिकालाई यस क्षेत्रका सांसद महिन्द्रराय यादव मन्त्री बन्नासाथ चलखेल सुरु गरी बर्बाद बनाइदिएको आरोप लगाए ।
प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसबाट निर्वाचित भएको हरिपूर्वा नगरपालिकामा १९ सदस्यीय कार्यपालिका छ । नगरप्रमुख साहले आफूसँग बहुमत सदस्य साथमा रहेको दावी गर्छन् भने उपप्रमुख ग्वारनीले असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएकी छन् ।