रानिगन्ज खानेपानीको मंसिर ९ गते भएको साधारण सभाको उद्घाटन सत्र ।
रानिगन्ज – लालबन्दी नगरपालिका १७ रानिगन्जमा खानेपानी मूल उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्न मंसिर १७ गते आइतबार मतदान हुने भएको छ ।
समितिमा पदाधिकारीसहित १३ जना सदस्यमध्ये ९ जना सदस्य निर्विरोध भएपनि ४ जना पदाधिकारीमा सहमती जुट्न नसकेपछि मतदान नै हुने भएको हो । निर्वाचन समितिले बुधबार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरिसकेको छ ।
खानेपानीको नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । कांग्रेस, एमाले र माओवादीको गठवन्धनबाट एमालेका पुरुषोत्तम प्रसाद पौडेलको उम्मेदवारी परेको छ ।
पौडेलको विरुद्धमा कांग्रेसकै असन्तुष्ट पक्षबाट भरतबहादुर थापाले उम्मेदवारी दिएका छन् । तर, नेपाली कांग्रेस लालबन्दी १७ रानिगन्जका वडा सभापति विभुसिंह थापाले अध्यक्षका उम्मेदवार भरतबहादुर थापा नै कांग्रेसको आधिकारिक र संस्थागत उम्मेदवार रहेको दावी गरेका छन् ।
अध्यक्षमा स्वतन्त्रबाट हिराबहादुर घिमिरेको उम्मेदवारी परेको छ ।
अध्यक्षका ३ उम्मेदवारमध्ये निर्वाचन समितिले पौडेललाई साँचो, थापालाई लालीगुराँस र घिमिरेलाई लौरो लिएको मान्छे चुनाव चिन्ह दिएको छ । स्वतन्त्र उम्मेदवार घिमिरेको तर्फबाट अध्यक्षमा मात्रै उम्मेदवारी परेको छ ।
गठवन्धनका उम्मेदवार पौडेलको तर्फबाट उपाध्यक्षमा डूकेन्द्र कुमार बस्नेत, सचिवमा कुमार प्रसाद भट्राई र कोषाध्यक्षमा अम्बरबहादुर कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै, कांग्रेसबाट विद्रोह गरी उम्मेदवारी दिएका अध्यक्ष थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमाया थिङ, सचिवमा टेकबहादुर श्रेष्ठ र कोषाध्यक्षमा तिर्थमान लोप्चनको उम्मेदवारी परेको छ ।
रानिगन्ज खानेपानीको १२ औँ साधारण सभाको उद्घाटन सत्र मंसिर ९ गते शनिबार सम्पन्न भएको थियो । १५ सदस्यीय कार्य समितिमध्ये १३ जना निर्वाचन प्रक्रियाबाट र बाँकी २ जना निर्वाचित समितिले मनोनयन गर्ने व्यवस्था छ ।
निर्वाचनमा ८७५ जना मतदाताले भाग लिन पाउने छन् । मंसिर १७ गते आइतबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म खानेपानी कार्यालयकै प्राङ्गणमा मतदान हुने निर्वाचन समितिका संयोजक चेतप्रसाद तिमल्सिनाले उज्यालो अभियानसँग बताए ।
रानिगन्ज खानेपानीमा यसअघि ११ पटक सहमतीमा नेतृत्व छानिँदै आएकोमा यो वर्ष भने मतदान हुन लागेको हो ।