logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चन्द्रनगरका शिक्षक पनि विद्यालय बन्द गरेर धर्नामा, हरिपूर्वामा एक साता पुग्यो


  • उज्यालो अभियान

चन्द्रनगर – ५ महिनादेखि तलब नपाएपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाका शिक्षकले पनि आज (मंगलबार) बाट विद्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् ।

एक सातादेखि जिल्लाको हरिपूर्वा नगरपालिकाका शिक्षकको नगरपालिका कार्यालयमा धर्ना जारी छ । हरिपूर्वाको जस्तै पीडा भोगेका चन्द्रनगरका शिक्षकले पनि गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालय बन्द गरेर धर्ना सुरु गरेका हुन् ।

विद्यालय बन्द हुँदा चन्द्रनगरमा ६ हजार र हरिपूर्वामा १६ वटा सामुदायिक विद्यालयका ५ हजार विद्यार्थी पढाईबाट बन्चित भएका छन् । हरिपूर्वामा नगरसभा नहुँदा र चन्द्रनगरमा गाउँ सभा नहुँदा शिक्षक, कर्मचारीले गएको साउनदेखि तलब पाएका छैनन् ।

सामाजिक सुरक्षा भत्ता रोकिएको छ । नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज सिंहले पाँच–पाँच महिनासम्म तलब नपाउँदा शिक्षकको व्यवहार पूरै डामाडोल भएको उज्यालो अभियानसँग गुनासो गरे । तलब उपलब्ध गराउन लिखित तथा मौखिक रुपमा ध्यानाकर्षण गराउने, कालोपट्टी बाँधेर पठनपाठन गराउने जस्ता अन्य दबाबमूलक कार्यक्रम गर्दा पनि सुनुवाई नभएपछि बाध्य भई विद्यालय बन्द गरेर धर्नामा बस्नु परेको सिंहले बताए ।

बजेट निकासा नहुँदा बालबालिकालाई दिवा खाजा खुवाउन नपाउँदा धेरै विद्यार्थी अनुपस्थित हुन थालेका र विद्यालयमा मसलन्दलगायत सम्पूर्ण सामग्री सकिएको सिंहको भनाई छ । ऋण तथा सापटी लिएर खर्च टार्दै आएपनि तलब आउने छाँट नदिएपछि उधारो र ऋणले गर्दा मुख देखाएर हिँड्न पनि गाह्रो परेको गुनासो आन्दोलित शिक्षकको छ ।

राजनीतिक दलका अगुवा नेताको स्वार्थ र जनप्रतिनिधिबीचकै टकराबका कारण चन्द्रनगर र हरिपूर्वा दुवै नगरपालिकाले बजेट ल्याउन नसक्दा डामाडोलको स्थिति बन्न पुगेको हो । अन्य पालिकामा धमाधम विकास निर्माणका काम हुँदा यि दुई पालिकामा भने बजेट नचलेर विकासका काम पूरै ठप्प छ ।