बागमती – सर्लाहीको बागमती नगरपालिका–८, सोल्टी बजार क्षेत्रमा डेंगुको संक्रमण व्यापक फैलिएको छ ।
दिनहुँ डेंगुका बिरामी बढ्न थालेपछि सोल्टी बजार क्षेत्रमा लामखुट्टे मार्न औषधि छर्किने, लार्भा खोजेर नष्ट गर्ने र स्थानीय वासिन्दालाई सचेतना प्रदान गर्ने काम सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले बताए । उनका अनुसार एक सय भन्दा बढी स्थानीयमा डेंगुको संक्रमण देखिएको छ ।
“आइतबार बजार क्षेत्रमा विवरण संकलन गर्दा ६० जना भन्दा बढी बिरामी भेटिनुभयो, “स्वास्थ्य शाखा संयोजक रायमाझीले भने, “सोमबारबाट बजार छेउछाउका बस्तीमा पनि विवरण लिन सुरु गरेका छौँ ।” स्थानीयका अनुसार सय जना भन्दा बढीमा डेंगुको संक्रमण भएको छ ।
बिरामी फेला परेका घरको सय मिटर आसपासमा औषधि छर्किने काम भइरहेको रायमाझीले बताए । औषधि छर्किन थालेपछि स्थानीयहरु आ–आफ्नो घरमा बिरामी रहेको भन्दै बिरामीको ‘रिपोर्ट’ लिएरै सम्र्पकमा आउन थालेका छन् ।
सोल्टी बजार क्षेत्रमा लामो समयदेखि राखिएको पानीका खाली ड्रममा वर्षाको पानी जमेको पाइएको र ती ठाउँमा बसेका लामखुट्टेबाट डेंगु फैलिएको हुन सक्ने स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए । हार्डवेयर पसलले बिक्रीका लागि राखेका खानेपानीका ती ड्रमबाट पानी पोखेर औषधि छर्किने काम गरिएको छ ।
बागमती नगरपालिका–८, का वडाध्यक्ष डम्बर बहादुर कार्कीका अनुसार तीन साता अघिदेखि डेंगुको संक्रमण फैलिन सुरु भएको हो । “एउटै घरका पाँच जना सम्मलाई डेंगु भएको छ,” वडाध्यक्ष कार्कीले भने, “अधिकांशमा बारम्बार उल्टी हुने र शरीर गल्ने समस्या देखिएको छ ।”
सामान्य अवस्था रहेका बिरामीले बरहथवा र हरिवनका निजी अस्पताल तथा क्लिनिकमा उपचार गराएका छन् । गम्भीर बिरामी परेका केही व्यक्ति भने उपचारका लागि काठमाडौँ पुगेका वडाध्यक्ष कार्कीले बताए ।
स्वास्थ्य शाखा संयोजक रायमाझीका अनुसार बागमती नगरपालिकाले कर्मैया स्वास्थ्य चौकीमा सञ्चालन गरेको जनस्वास्थ्य प्रयोगशालामा डेंगुको परीक्षण तथा नगरपालिका मातहतका स्वास्थ्य चौकीहरुमा उपचार समेत हुन्छ । “तर यहाँका स्थानीयमा निजी अस्पताल र क्लिनिकप्रति बढी विश्वास देखियो,” स्वास्थ्य शाखा संयोजक रायमाझीले भने, “उहाँहरु निजी क्लिनिकमै बढी जाँदा हामीलाई डेंगु संक्रमणबारे बेलैमा जानकारी आउन सकेन ।”
बागमती नगरपालिकाको स्वास्थ्य शाखाले डेंगुबाट जोगिन घर वरिपरी पानी जम्न नदिन, सुत्ने बेला झुलको प्रयोग गर्न र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ । स्वास्थ्य शाखा संयोजक रायमाझीका अनुसार चिसो बढ्दै जाँदा डेंगुको संक्रमण घट्ने भएपनि हिजोआज दिनभर चरक्क भएर घाम लाग्दा डेंगु फैलाउने लामखुट्टेका लागि झन अनुकूल वातावरण बनेको छ ।