मलंगवा – “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मूल नारासहित सर्लाहीमा पनि ३२ औँ अन्तराष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु भएको छ ।

सदरमुकाम मलंगवामा आज (शनिबार) बिहान अभियानको उद्घाटन गरियो । मलंगवा नगरपालिकाको आयोजना तथा महिलाको क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी निकाय र संघसंस्थाको समन्वयमा प्रभातफेरि र कोण सभा गरी अभियानको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतको आतिथ्यता रहेको थियो ।
सुरक्षा अधिकारी, कार्यालय प्रमुख, नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी, शिक्षक, विद्यार्थी, महिला, सुरक्षार्मीलगायतको उपस्थितिमा नगर क्षेत्रमा प्रभावतफेरि गरी मलंगवा नगरपालिकाको परिसरमा कोण सभा गरिएको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए ।