धर्नामा बसेका शिक्षक । (तस्बीर : उज्यालो अभियान)
हरिपूर्वा – जिल्लाको हरिपूर्वा नगरपालिकाका शिक्षक आ आफ्नो विद्यालय बन्द गरेर नगरपालिकामा पुगी धर्नामा बसेका छन् ।
यो आर्थिक वर्ष २०८०/०८१ सुरु भएको चार महिना बितिसिक्दा समेत नगर सभा हुन नसक्दा यहाँका शिक्षकले तलब पाउन सकेका छैनन् । गएको साउनदेखि तलब नपाएका शिक्षकले तलब माग गर्दै नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका हुन् ।
शिक्षकको आन्दोलनले गएको बुधबारदेखि नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालय बन्द हुँदा करिव पाँच हजार विद्यार्थी पढाईबाट बन्चित भएका छन् । हरिपूर्वा नगरपालिका–५ स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयकी शिक्षिका रीनाकुमारी साहले तलब दिनुपर्ने एक सुत्रिय माग राखेर धर्नामा बसेको उज्यालो अभियानसँग बताईन् । “विद्यालय बन्द गरेर धर्नामा बस्नुपर्ने अन्य कुनै कारण नै छैन्,” साहले प्रश्न गर्दै भनिन् “भोकै पेट कति दिनसम्म पढाउने ? चार–चार महिनासम्म तलब नपाउँदा हाम्रो घर, व्यवहार पूरै डामाडोल बनेको छ ।”
नगरपालिकामा पटक–पटक ध्यानाकर्षण गराउँदा दशैँ, तिहार र छठ जस्ता प्रमुख पर्वमा पनि तलब नपाएपछि बाध्य भई धर्नामा बस्नु परेको आन्दोलित शिक्षकहरुको गुनासो छ । हरिपूर्वा नगरपालिका–४, मा रहेको जनशक्ति प्राथमिक विद्यालय डुमरियाका प्रधानाध्यापक रामजीवन रायले गएको असोज १६ गते ज्ञापन पत्र बुझाएर तलब निकासा गरिदिन माग गरेपनि अहिलेसम्म तलब नपाएको बताए । “यत्तिका महिनासम्म तलब नपाउँदा टाढाबाट यहाँ आएर पढाउने शिक्षक साथीहरुलाई असाध्य गाह्रो पर्न थालिसकेको छ,” प्रधानाध्यापक रायले भने, “तलब नपाएसम्म अब हाम्रो आन्दोलनको कार्यक्रम रोकिँदैन् ।”
नगरसभा गर्न नसक्दा हरिपूर्वा नगरपालिकाले शिक्षक, कर्मचारी कसैलाई पनि तलब खुवाउन सकेको छैन् ।
नगरपालिकाका प्रमुख विनोद साह तेलीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर सभा गर्न नसकेको बताए । “नगरसभा गर्न नसकेरै यि सबै समस्या आएका हुन्, नगरसभा गर्न प्रमुख प्रशासकीय अधिकृत हुनुुहुन्न,” मेयर साहले भने, “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाइदिँदा आर्थिक गतिविधि ठप्प भएको हो ।”
हरिपूर्वा नगरपालिकामा गएको वर्ष चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएर गएदेखि नयाँ प्रमुख प्रशसकीय अधिकृत पठाइएको छैन् । बीचमा असार अन्तिमतिर तलब, भत्ता खुवाउनका लागि मात्रै भनी प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रलाई पठाइएको थियो । उनी केही दिन हाजिर भएर पुनः मन्त्रालयमै फर्किए । त्यसपछि विभिन्न प्रमुख प्रशासकीय अधिकृत पठाइएकोमा कसैलाई बाटोबाटै त कसैलाई केही घण्टाभित्रै अन्यत्र सरुवा गराइएको नगरप्रमुख साहले बताए ।
आफूले कयौँ पटक मन्त्रालयमा पुगेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन लिखित तथा मौखिक रुपमा आग्रह गरेपनि सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य समेत रहेका खानेपानी मन्त्री महिन्द्रराय यादवले हस्तक्षेप गरेर कुनै पनि प्रमुख प्रशासकीय अधिकृतलाई आउनै नदिएको नगरप्रमुख साहले आरोप लगाए ।