बागमती – बागमती नगरपालिका–१ मा रहेको मिलनचोक युवा क्लबमा आवद्ध युवाले तिहारमा देउसी–भैलो खेलेर उठेको रकमबाट वृद्धाश्रममा सहयोग गरेका छन् ।
युवाले गएको तिहारमा देउसी–भैलो खेलेर सङ्कलन भएको रकमबाट लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वर नमूना वृद्ध सेवाश्रममा खाद्यान्न सहयोग गरेका हुन् । क्लबका सचिव सुन्दर राणाको नेतृत्वमा आज (बिहीबार) बिहान आश्रममा आएका युवाले त्यहाँ आश्रीत बुवाआमालाई मिष्ठान्न भोजन गराई चामल १०० केजी, दाल १० केजी, तेल एक कार्टुन, चिनी १० केजी, आलु ५० केजी, नुन १० केजी र चियापत्ती तीन प्याकेट सहयोग गरेका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिए ।
यसअघि लालबन्दी नगरपालिका–१, नवलपुरका युवाले पनि देउसी–भैलो खेलेर सङ्कलन भएको रकमबाट आश्रममा यसैगरी खाद्यान्न सहयोग गरेका थिए । पछिल्लो समय देउसी–भैलोको रकम वनभोजलगायत अन्य तडकभडकमा खर्च गर्नेक्रम बढेपनि बागमती १ र लालबन्दी १ का युवाले भने सामाजिक काममा सो रकम खर्च गरेको भन्दै प्रशङ्सा भएको छ ।