प्रतिकात्मक तस्बिर ।
जुटपानी – नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका ८ जुटपानीमा हिजो (मंगलबार) भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका बालकको शव बुझ्न परिवार सहमत भएका छन् ।
आज (बुधबार) इलाका प्रहरी कार्यालय हरिपुरमा भएको छलफलपछि मृतकको परिवारलाई कानून बमोजिम क्षतिपूर्ति दिलाउने सहमतीमा परिवारले पोष्टमार्टम गरेर शव बुझ्ने भएका हुन् । हिजो अपरान्ह लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको जे.आई.सी. अङ्ग्रेजी आवासीय विद्यालयको बसले किच्दा हरिपुर ८ घर भई हाल लालबन्दी २ मा बसोवास गर्दै आएका वीरेन्द्र पासवानका छोरा वर्ष ६ का आदित्य पासवानको मृत्यु भएको थियो ।
बालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिवास पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले गएसाँझ ३ घण्टा र आज बिहान पनि पटक–पटक जुटपानीमा सडक अवरुद्ध पारे । आजको छलफलबाट सहमती जुटेपछि अवस्था सामान्य बनेको छ ।
मृतक बालकको शव बर्दिवासमै छ । अहिले बर्दिवासमै पोष्टमार्टम हुने भएकाले भोली उतै पोष्टमार्टम गरेर शव बुझ्ने सहमती भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । दुर्घटनामा परेको स्कुल बस र त्यसका चालक प्रहरीको नियन्त्रणमै रहेका छन् ।