लालबन्दी – छठपूजाका व्रतालु धमाधम छठघाटतर्फ प्रस्थान गर्नेक्रम सुरु भएको छ ।
नजिकको पोखरी, खोला, नदी, नहरलगायतका जलाशयमा निर्माण गरिएको छठघाटमा पूजा सामग्री बोकेर व्रतालुहरु पुगिरहेका हुन् । सूर्यको आरधना गरी मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । त्यसका लागि व्रतालु र परिवारका सदस्य बाँसको ढाकीमा पूजा सामग्री : केरा, स्याउ, सुन्तला, पानी भएको नरिवल, शुद्धसँग बनाइएको विभिन्न परिकार बोकेर छठघाटमा पुग्न थालेका हुन् ।
व्रतालु अब आज रातभर नै छठघाटमै जाग्राम बस्छन् । भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएपछि यो वर्षको छठपर्व विधिवत् रुपमा समापन हुन्छ । प्रत्येक छठघाटमा छठ पर्वका गीत गुञ्जिएका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
छठपूजाका लागि सर्लाहीमा २७४ भन्दा बढी स्थानमा छठघाट निर्माण गरिएको छ । प्राकृतिक जलाशय नभएका स्थानमा जनश्रमदान तथा डोजर प्रयोग गरेर कृत्रिम पोखरी निर्माण गरी छठीमाताको पूजा गर्ने तयारी रहेको स्थानीयले बताएका छन् ।