प्रतिकात्मक तस्बीर ।
हरिवन – हरिवन नगरपालिका–११, बालगंगामा शंकास्पद अवस्थामा मृत्यु भएको भनिएकी किशोरीको शव भोली (आइतबार) मात्रै उत्खनन गरेर निकालिने भएको छ ।
६ दिनअघि गाडिएको युवतीको शव खाल्डोबाट निकालेर परीक्षण गरिने भएको हो । युवतीको मृत्यु शंकास्पद रहेको भनी प्रहरीमा जानकारी आएपछि असोज २६ गते गाडिएको स्थानीय १७ वर्षीया तबसुन खातुनको शव उत्खनन गरेर निकाल्न लागिएको हो ।
स्थानीय शेख इर्सादकी छोरी तबसुनको मृत्युको कारण खुल्न सकेको छैन् । तबसुनको मृत्युबारे यसअघि प्रहरीमा कुनै जानकारी नै आएन ।
युवतीको शव असोज २६ गते नै मुस्लिम समुदायको शव दाहसंस्कार गर्ने स्थल ‘कबरस्थान’ मा लगेर गाडिएको थियो । घटनाबारे हिजो (शुक्रबार) बेलुका मात्रै इलाका प्रहरी कार्यालय हरिवनमा खबर आयो । प्रहरीले आज (शनिबार) बिहान मृतकको शव उत्खनन गरेर बाहिर निकाल्न खोज्यो तर स्थानीयबाट अवरोध भयो । त्यसपछि हरिवन ११ स्थित वडा कार्यालयमा बिहान भएको सर्वपक्षिय छलफलबाट घटनाको अनुसन्धान गर्न शव निकाल्न दिने सहमती गर्यो ।
सो सहमती अनुसार आज दिउँसो खाल्डोबाट शव बाहिर निकाल्ने र पोष्टमार्टमको प्रक्रिया अघि बढाउने तयारी भएपनि हरिवनकै बासाटोलमा अर्का एक जना व्यक्तिको निधन भएर मुस्लिम अगुवा त्यसतर्फ व्यस्त भएपछि किशोरीको शव उत्खनन कार्य थाती राखिएको हो ।
अपरान्ह इलाका प्रहरी कार्यालय हरिवनमा भएको छलफलले भोली बिहान ८ बजेपछि मुस्लिम समुदायका अगुवासमेतलाई राखेर शव खाल्डोबाट निकाली पोष्टमार्टमको प्रक्रिया अघि बढाउने सहमती भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण धितालले उज्यालो अभियानलाई जानकारी दिए ।
एसपी धितालले युवतीको मृत्युबारे अनुसन्धान जारी नै रहेको बताए । प्रहरीका अनुसार मृतक युवतीका बुवा सेख इर्साद र दाई शेख चाँद फरार छन् ।
प्रहरीले मृतककी सौतेनी आमासहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । युवतीको शव गाडिएको स्थल र बालगंगा बस्तीमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।