मलंगवा – दीपावली गरिएको मैनबत्तीबाट आगो सल्किएर सर्लाहीको दुई स्थानमा आगलागी भएको छ ।
जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिका–२, हनुमान चोकमा सोमबार बिहानपख स्थानीय अरुण साहले संचालन गरेको मोटरसाइकल वर्कशपमा आगलागी भएको स्थानीयले बताएका छन् । मैनीबत्तीबाट आगो सल्किँदा पसलभित्र रहेका मोटरसाइकल बनाउने करिव दुई लाख रुपैयाँ बराबरको सामग्री जलेको हो ।
सोमबार बिहान ५ बजेतिर भएको आगलागी प्रहरी चौकी छन्कीटोलाबाट खटिएको प्रहरीको सहयोगमा स्थानीय वासिन्दा भएर निभाएका छन् ।
त्यस्तै, जिल्लाको दक्षिण–पश्चिम भेगमै पर्ने धनकौल गाउँपालिका–७, मा दीपावलीको बत्तीबाट आगो सल्किँदा स्थानीय बुझैवन राय यादवको फुसको घरगोठ जलेर ध्वस्त भएको छ । आइतबार राति साँढे ८ बजेतिर भएको आगलागीबाट गोठ, गोठभित्र रहेका अन्न, कपडा, नगदलगायतका सरसामग्री जल्दा एक लाख रुपैयाँ बराबरको क्षति भएको पीडितलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
धनकौलको उक्त आगलागी प्रहरी चौकी सिसौटबाट गएको प्रहरीको सहयोगमा स्थानीय वासिन्दा भएर नियन्त्रणमा लिएका छन् । यि दुई घटनाबाहेक जिल्लाभर सामान्य रुपमा लक्ष्मीपूजा तथा दीपावली गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।