logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलराबाट ५ किलो चाँदीसहित दुई जना पक्राउ


  • उज्यालो अभियान

बलरा – नेपाल भारत सीमानजिक पर्ने सर्लाहीको लक्ष्मीपुरबाट सशस्त्र प्रहरीले चाँदीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

५ किलो चाँदीसहित एक भारतीय र एक नेपाली पक्राउ परेका हुन् । बलरा नगरपालिका–३ लक्ष्मीपुरस्थित नेपाल–भारत सीमाबाट ५ किलो ३ सय ५३ दशमलव १ सय ग्राम चाँदीसहित भारतको सीतामढी जिल्ला रिगाग्राम पञ्चायत–८ का २६ वर्षीय धर्मेन्द्रकुमार साह र रौतहटको यमुनामाई गाउँपालिका–२ का २१ वर्षीय शेख असिम आलम सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छतौनाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एफ ६८७० नम्बरको मोटरसाइकल चेकिङका क्रममा चाँदी र ५० हजार नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

चाँदीको बुनिया, रड र बालाको स्वरूपमा ल्याइएको सो चाँदीको बजार मूल्य ६ लाख ४७ हजार १ सय ८ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको चाँदी, नगद, मोटरसाइकलसहित पक्राउ परेका दुईजनालाई आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी १० नम्बर गणले जनाएको छ ।