logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कांग्रेस महासमिति सदस्य निर्वाचन : देउवा समूहका ६ र कोइराला समूहका ५ बिजयी


  • उज्यालो अभियान

महासमिति चयन गर्न जानकी मा.वि. मा शुक्रबार भएको मतदान ।

लालबन्दी – सर्लाही क्षेत्र नं. १ मा नेपाली कांग्रेसको महासमिति सदस्य चयनका लागि भएको मतदानबाट संस्थापन पक्षका ६ र ईतर पक्षका ५ जना विजयी भएका छन् ।

११ जना महासमिति सदस्य चयन गर्न हिजो (शुक्रबार) लालबन्दीस्थित जानकी माध्यमिक विद्यालयमा मतदान भएको थियो । मतदानबाट संस्थापन अर्थात् शेरबहादुर देउवा समूहबाट रेखा जोशी, प्रमोद कुमार बराल, शेष साह दुल्लाह, नवराज अधिकारी, शम्भुलाल श्रेष्ठ र रामबाबु साह विजयी भएका छन् ।

यस्तै, संस्थापन इतर अर्थात् शेखर कोइराला समूहबाट लक्ष्मी प्रधान गोले, पम्फा लामा श्रेष्ठ, योगराज देवकोटा, रामचन्द्र चौधरी र कुशबहादुर विश्वकर्मा विजयी भएका छन् ।

मतदानमा महिलातर्फ संस्थापन पक्षकी रेखा जोशीले ३६४ मत र संस्थापन इतर पक्षकी लक्ष्मी प्रधान गोलेले ३६३ मत प्राप्त गरी बिजयी भए । प्रतिस्पर्धी संस्थापन पक्षकी कन्चन साहले ३३५ र इतर समूहकी सुशीला कार्कीले ३०६ मत मात्रै प्राप्त गरेका छन् ।

यस्तै, आदिवासी जनजातितर्फ विजयी हुनुभएका संस्थापन पक्षका शम्भुलाल श्रेष्ठले ४२९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईतर पक्षका सत्यदेव सिंह दनुवारले ३१४ मत मात्रै प्राप्त गरे । प्रत्यक्ष खुल्लातर्फ संस्थापन पक्षका प्रमोद कुमार बरालले ४०७ मत र शेष शाह दुल्लाहले ३७७ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रत्यक्ष खुल्लामा संस्थापन इतर समूहबाट योगराज देवकोटा ३९५, रामचन्द्र चौधरी ३८६ र पम्फा लामा श्रेष्ठ ३९८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, मधेशीमा संस्थापन पक्षबाट रामबाबु साह ४१५ मत ल्याई बिजयी हुँदा उनका प्रतिस्पर्धी संस्थापन इतर समूहका सोनेलाल साहले ३१० मत मात्रै प्राप्त गरे ।

खस आर्यमा संस्थापन पक्षका नवराज अधिकारी ४३० मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी संस्थापन इतर समूहका उद्धव प्रसाद पौडेलले २७४ मत प्राप्त गरे ।

त्यसैगरी, दलितमा संस्थापन इतर समूहका कुशबहादुर वि.क. ३५९ मत ल्याएर बिजयी हुँदा उनकी प्रतिस्पर्धी संस्थापन पक्षकी जुना परियार ३ मतले पराजित भईन् । महासमिति सदस्य निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका शिवकुमार गुर्मछानले ३६६, दीपक अधिकारीले ३४४, सुरेन्द्र प्रसाद न्यौपानेले ३०५ र बासुदेव अधिकारीले २६६ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं. १ मा महासमिति सदस्य चुन्न हिजो (शुक्रबार) भएको मतदानमा ८४२ जना क्षेत्रीय प्रतिनिधिमध्ये ७७२ जना उपस्थित भएर मतदान गरेका थिए । हिजो अपरान्ह ४ बजे मतदान सकिएपनि तयारीको काम गर्दा गर्दै मतगणना सुरु गर्न राति ८ बजेको थियो । आज (शनिबार) बिहान साँढे ३ बजे मतगणना सकेर अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ४ मा जिल्ला अधिवेशनकै निर्वाचनताका मतदानबाटै र क्षेत्र नं. ३ मा केही दिनअघि सर्वसहमतीबाट महासमिति सदस्य चयन गरिसकिएको छ । क्षेत्र नं. २ मा निर्वाचन समितिले निर्वाचित महासमिति सदस्यको नामावली केन्द्रमा पठाइसकेको भएपनि केही विवाद देखिएको छ ।