logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

फूलजोर बाबा साझेदारी वन क्षेत्रमा तीन वटा जंगली हात्ती देखिए


  • उज्यालो अभियान

केही समय पहिला हरिवनको उत्तरी चुरे क्षेत्रमा देखिएको हात्ति । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)

फूलजोर – सर्लाहीको फूलजोर बाबा साझेदारी वन क्षेत्रमा तीनवटा जङ्गली हात्ती देखा परेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फूलजोर चोकदेखि उत्तर ईश्वरपुर नगरपालिका वडा नं. १२ मा पर्ने त्यस वन क्षेत्रमा जङ्गली हात्ती देखा परेका हुन् । फूलजोर चोकबाट गाउँतर्फ जाँदै गर्दा तीनवटा जङ्गली हात्ती देखा परेका ईश्वरपुर–१२, सुकेपुरका ताराबहादुर तिरुवाले जानकारी दिए ।

ईश्वरपुर तथा लालबन्दी प्रहरीले हात्तीले कहिँकतै क्षति पु¥याएकोबारे जानकारी प्राप्त नभएको जनाएका छन् । सर्लाहीको वन क्षेत्रमा केही सातादेखि जङ्गली हात्ती देखा परिरहेका छन् । हात्तीको आक्रमणबाट असोज अन्तिम साता जानकीनगरमा एक किशोरको मृत्यु भएको थियो । त्यसपछि पनि जङ्गली हात्तीको समूहले हरिपुर र ईश्वरपुरको विभिन्न क्षेत्रका किसानले लगाएको धानलगायत अन्य बालीमा क्षति पुर्याइसकेको छ ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मञ्जुर अहमदले वन गस्ती टोलीले बेलाबेलामा फरक–फरक स्थानमा हात्ती देखिएका भनी जानकारी गराएका बताए । हात्ती एकै क्षेत्रमा नबसेर फरक–फरक ठाउँमा देखा परिरहेको उनले बताए ।

वन क्षेत्रमा यसरी बारम्बार हात्ती देखा परिरहेकाले घाँस, दाउरा तथा वस्तुभाउ चराउन जाँदा र वनको सडक भएर आउजाउ गर्दा सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । आफ्ना पुर्खा हिँड्ने बाटो भएर हिँड्नेक्रममा हात्तीको समूह प्रत्येक वर्षजसो सर्लाहीको वन क्षेत्र भएर ओहोरदोहोर गर्ने गरेका छन् ।