logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुर र हरिपुरमा २५ परिवार भूमिहिनलाई लालपुर्जा वितरण


  • उज्यालो अभियान

हरिवन – सर्लाहीमा राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समितिले भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ ।

आयोगले बिहीबार ईश्वरपुर र हरिवन नगरपालिकामा २५ जना भूमिहिनलाई लालपुर्जा वितरण गरी यस कार्यको शुभारम्भ गरेको हो । आयोगको सर्लाही जिल्ला समितिका प्रवक्ता मदनबहादुर विश्वकर्माले मधेश प्रदेशमै पहिलो पटक आयोगले यहाँबाट भूमिहिनलाई लालपुर्जा वितरण गर्न सुरु गरेको दावी गरेका छन् ।

ईश्वरपुर नगरपालिकाको वडा नं. १ शकरगञ्जका १८ परिवार र हरिवन नगरपालिका वडा नं. २ पछियारी टोलका ७ परिवार भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई लालपुर्जा प्रदान गरिएको राष्ट्रिय भूमि आयोग सर्लाहीले जनाएको छ । वर्षौदेखि ऐलानी (पर्ती) जग्गामा बसोवास गर्दै आइरहेका भूमिहिन सुकुम्वासी जग्गाको लालपुर्जा पाएपछि दङ्ग परेका छन् ।

आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्का, ईश्वरपुरमा नगरप्रमुख मनोजकुमार आचार्य र उपप्रमुख रञ्जिता देवी चौधरी, हरिवनमा नगरप्रमुख रमेश बुढाथोकी (कमल) र उपप्रमुख हरिमाया घलान, आयोगका जिल्ला अध्यक्ष चन्द्रप्रसाद वाग्ले, नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरलगायत भएर लालपूर्जा वितरण गरेका हुन् ।

आयोगका जिल्ला अध्यक्ष वाग्लेले अन्य पालिकाका भूमिहिन सुकम्वासीको पनि धमाधम लालपुर्जा तयार भइरहेको र छठ पश्चात क्रमशः वितरण गर्दै जाने बताए ।