लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।
लालबन्दी – लालबन्दी नगरपालिकामा कार्यरत अधिकांश कर्मचारी पूरा समय (बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म) कार्यालयमा नबस्ने गरेको व्यापक जनगुनासो आएको छ ।
नगरभित्रका वडा कार्यालयमा वडा सचिव र अन्य कर्मचारी ४ बज्नुभन्दा अघि नै कार्यालय बन्द गरेर हिँड्ने गरेको समाचार बुधकार उज्यालो अभियान दैनिकको अनलाईनमा प्रकाशित भएपछि सेवाग्राहीले नगरपालिकामा अझ बढी मनपरी रहेको गुनासो पोखेका हुन् । लालबन्दी नगरपालिका ८ निवासी एक सेवाग्राहीले बिहान १० बजे कार्यालय पुग्दा अधिकांश कर्मचारी नआइपुग्ने र दिउँसो ३ बजेअघि नै कार्यालय छाडेर निस्कने गरेको बताए ।
“तपाईले लेल्नुभएको समस्या वडामा मात्रै होइन्, नगरमा अझ बढी छ, नाम उल्लेख नगर्न आग्रह गर्दै ती सेवाग्राहीले भने नगरपालिकामै यस्तो बर्बाद छ, १० बजे कोही आइपुग्दैनन्, दिउँसो २/३ बजेपछि कार्यालय पुग्यो भने कर्मचारी घर हिँडिसकेकाले सुनसान भइसक्छ ।”
आर्थिक वर्षको अन्तिमतिर प्रायः साँझसम्म कर्मचारी बस्ने गरेपनि हिजोआज कार्यालय पुग्दा कर्मचारी नभट्ने गरेको ती सेवाग्राहीले गुनासो गरे । लालबन्दी नगरपालिका ७ का एक व्यवसायीले दिउँसो ३ बजेतिर काम लिएर जाँदा शाखा प्रमुख र कार्यालय प्रमुख नै नरहेको भन्ने जवाफ आफूले पटक–पटक पाएको दुःखेसो पोखे ।
यस विषयमा आफूले पटक–पटक आवाज उठाए पनि सुनुवाई नभएको ती व्यवसायीको भनाई छ । सेवाग्राहीका अनुसार काम लिएर जाँदा कतिपय कर्मचारीलाई त फोन गरेरै कार्यालय आइदिन आग्रह गर्नुपर्ने अवस्था छ । विषयगत शाखाका प्रमुख नै कार्यालयमा भेटिदैनन् ।
लालबन्दी नगरपालिकाका एक जना वडाध्यक्षले पनि नगरपालिकामा पूरा समय कर्मचारी नबस्ने गरेको गुनासो जायज रहेको बताए । “मेरो नाम त नलेख्दिनुस्, तपाईहरुले हिजो वडाको लेख्नुभएछ, तर नगरपालिकामा झन बढी मनोमानी छ, यो नियमित नियमन हुन जरुरी छ, ” ती वडाध्यक्षले उज्यालो अभियानसँग भने ।
बुधबार र बिहीबार सेवाग्राहीको गुनासोपछि उज्यालो अभियानका संवाददाता बिहीबार दिउँसो कार्यालय परिसरमा पुग्दा धेरै कर्मचारी घर गइसकेका पाइयो । यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई फोन गर्दा (९८५४०३९१११) स्वीच अफ पाइयो ।
लालबन्दी नगरपालिकाका सूचना अधिकारी रेवती प्रसाद पौडेल (रमेश) ले केही समयअघि नै कर्मचारीहरुलाई पूरा समय डिउटी गर्न निर्देशन भएको बताए । “सबै कर्मचारीलाई कार्यालय समयमा पूरा डिउटी गर्नुस् भनिएको छ,” सूचना अधिकारी पौडेलले बिहीबार दिउँसो उज्यालो अभियानसँग भने, “फिल्डमा जानुपर्ने कर्मचारीलाई पनि लकबुकमा लेखेर मात्रै जानुपर्ने भन्ने निर्णय भएको छ ।” तर, न कर्मचारीले पूरा समय कार्यालयमा बसेर काम गर्छन् न त फिल्डमा जाने कर्मचारीले लकबुमा लेखेरै जान्छन् ।
अझ फिल्डमा जाने कतिपय कर्मचारी कार्यालय समयमा अन्यत्र ब्यस्त हुने गरेको गुनासो पनि सेवाग्राहीबाट आउने गरेको छ ।