बरहथवा – नेपाली सेनाले जिल्लाको बरहथवा नगरपालिका वडा नं. ११ हीरापुरमा प्रसुति गृह (बर्थिङ सेन्टर) निर्माण गर्ने भएको छ ।
नवलपुरस्थित भैरवीदल गण पाँचकुमारीले ‘कुइक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत आफ्नो ४५ लाख ४९ हजार १४० रुपैयाँ ८२ पैसा बजेटबाट ४ कोठे पक्की बर्थिङ सेन्टर भवन निर्माण गर्ने भएको हो । हीरापुरस्थित वडा कार्यालय परिसरमा रहेको चौरमा निर्माण हुने बर्थिङ सेन्टरको बिहीबार बिहान सेनाको मध्यपूर्वी पृतना बर्दिवासका पृतनापति एवं उपरथि प्रेमध्वज अधिकारी र बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

नगरप्रमुख कटुवालले सामाजिक सेवामा सपर्मित भई सेनाले बर्थिङ सेन्टर बनाइरहँदा नगरपालिका पनि साथमै रहने प्रतिवद्धता व्यक्त गरिन् । बर्थिङ सेन्टर निर्माणपश्चात यसको सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणको व्यवस्था नगरपालिका आफैले व्यवस्थापन गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छन् ।
ग्रामीण भेगमा पर्ने वडा नं. ११ मा अझै पनि प्रजनन समस्या धेरै रहेको अवस्थामा नेपाली सेनाले बर्थिङ सेन्टर निर्माण गरिदिएपश्चात यहाँका विपन्न वर्गका गर्भवतीलाई प्रसुति सेवा लिन सहज हुने नगरप्रमुख कटुवालको भनाई छ ।

त्यस्तै उपरथि अधिकारीले नेपाली सेनाले नागरिकसँग नजिक रहेर सेवा गर्ने अभियान अन्तर्गत यस्ता सामाजिक काम गर्दै आएको बताए । उनले बर्थिङ सेन्टर निर्माण भई सञ्चालन भएपश्चात शिशु तथा मातृ मृत्युदरमा कमी आउने विश्वास व्यक्त गरे ।
चालू आर्थिक वर्षभित्रमा एक तले चारकोठे बर्थिङ सेन्टर भवन निर्माण गरिसक्ने गरी राजेश एण्ड रन्धिर कष्ट्रक्सन प्रा.लि. बरहथवासँग सम्झौता भएको भैरवीदल गणका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्कीले उज्यालो अभियानसँग बताए । कार्कीका अनुसार नगरपालिका र वडा कार्यालयसँग समन्वय गरी भवन तयार पारिने छ ।
बर्थिङ सेन्टर शिलान्यास कार्यक्रममा नं. ९ बाहिनी सिन्धुलीका बाहिनीपति एवं सहायक रथी प्रकाशबहादुर चन्द, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रहरी प्रमुख प्रवीण धिताल, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुङ्गेल, सशस्त्र प्रहरी नायब उपरीक्षक उद्धव वन, बरहथवा नगरपालिका ११ का वडाध्यक्ष नवराज राईलगायतको आतिथ्यता रहेको थियो ।