मलंगवा – सर्लाही प्रहरीले तीन दिनको अवधिमा करिव १७ लाख रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ ।
कात्तिक १८ गतेदेखि आज (सोमबार बिहान) सम्म गरी १६ लाख ९७ हजार ६२० रुपैयाँ बराबरको विभिन्न सरसामग्री बरामद गरिएको प्रहरीले जानकारी दिएको हो । जिल्ला प्रहरी तथा मातहतका युनिटले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको चिनी १०० केजीसहित कपडा, हार्डवेयरका समान, माला, खाद्यान्न, मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने सामग्रीलगायत बरामद गरेको प्रहरीले जनाएको छ । ती समान ल्याउन प्रयोग गरिएको ज ९ प ९७४३ र बीआर ३३ एन ७५७२ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
बरामद सम्पूर्ण सामग्री र दुवै मोटरसाइकल आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।