logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा प्रहरीको संख्या बढाइयो


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सदरमुकाम मलंगवामा प्रहरीको संख्या बढाइएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले प्रमुख दुई चाड दीपावली र छठ पर्व नजिकिएसँगै सुरक्षा अवस्थालाई दृष्टिगत गरी मलंगवामा प्रहरीको उपस्थिति बढाइएको उज्यालो अभियानलाई जानकारी दिए । विभिन्न पर्व मनाउनेक्रममा यसअघि दुई पक्षबीच बारम्बार झडप भएपछि मलंगवामा सुरक्षा निकाय ‘अलर्ट’ अवस्थामा रहने गरेका छन् ।

पछिल्ला दिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती बढाएको देखिन्छ । गस्तीमा खटिने सुरक्षाकर्मीले नयाँ मानिसमाथिको निगरानी बढाएका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

जिल्ला प्रहरी प्रवक्ता थारुले मलंगवालाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयमा प्रहरीको बेग्लै टोली २४ सैँ घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले नजिकिँदै गरेको दीपावली र छठलाई लक्षित गरी सदरमुकाम मलंगवासहित जिल्लाभर नै प्रहरीले विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको बताए ।

जिल्ला प्रहरी प्रमुखसहितका सुरक्षा अधिकारी आफै सुरक्षामा खटिने तयारी गरेका छन् । दशैँका बेला दुर्गा पूजाको मूर्ति विर्सजन गर्ने क्रममा प्रहरीले सुरक्षा पहरा दिनुपरेको थियो । त्यस घटनालाई लिएर पनि सुरक्षा अधिकारी चनाखो छन् ।

सदरमुकाम मलंगवामा सामाजिक तथा धार्मिक सद्भाव कायम गराउन जिल्लाका प्रशासक तथा सुरक्षा अधिकारी निरन्तर लागिपरिरहेका हुन् । दीपावली तथा छठ पर्वमा पनि विभिन्न समुदायका अगुवा र अन्य सामाजिक व्यक्तिलाई राखेर छलफल गराउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।