शनिबार निरीक्षणमा पुगेको सुरक्षा अधिकारी तथा विद्युत् प्राधिरकणको टोली ।
जियाजोर – जिल्लाको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१२, जियाजोरमा स्थानीयले असहमती जनाइरहेको हेटौंडा–ढल्केबर–इनरुवा चारसय केभिए प्रशारण लाईनको शनिबार निरीक्षण गरिएको छ ।
प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी र नेपाल विद्युत् प्राधिकरणको यस परियोजना हेर्ने अधिकारीहरु समेतको उपस्थितिमा विवाद भएको क्षेत्रको स्थलगत निरीक्षण गरिएको हो । जियाजोरका स्थानीयले गाउँ हुँदै प्रशारण लाईन निर्माण हुन दिइरहेका छैनन् ।
बस्ती र खेतीयोग्य जमिन हुँदै लाइन लान नदिने स्थानीयको अडानका कारण त्यहाँ काम अघि बढ्न सकेको छैन् । उनीहरुले बस्तीभन्दा उत्तर चुरेपाखा हुँदै वा लखन्देखी खोला भएर लाइन लान माग गरेका छन् ।
यही विवादका कारण काम हुन नसकेपछि जिल्लाका सुरक्षा अधिकारी र प्राधिकरणका जिम्मेवार अधिकारीले पटक–पटक त्यहाँ पुगेर स्थानीयसँग छलफल गर्ने तथा त्यस क्षेत्रको निरीक्षण गर्ने गरिरहेका छन् । यसअघिका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा केही महिनाअघि लालबन्दी नगरपालिकाका जनप्रतिनिधि, स्थानीय वासिन्दा लगायत सबै सरोकारवालालाई राखेर छलफल गरिएको थियो ।
जिल्लाका एक सुरक्षा अधिकारीका अनुसार राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यस प्रशारण लाईनको जियाजोर क्षेत्रमा समस्या समाधान गरी काम अघि बढाउन गृह मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले ताकेता गरिरहेको छ । त्यसअनुसार समस्याको समाधान गर्नेक्रममै शनिबार सुरक्षा अधिकारीसहितको टोलीले निरीक्षण गरेको हो ।
शनिबारको निरीक्षणमा नेपाल प्रहरीको मधेश प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनकराज भट्टराई र सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र साह समेत सहभागी भए ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, नेपाली सेना भैरवी दल गण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक प्रवीण धिताल, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, नेपाल विद्युत् प्राधिकरणको आयोजना प्रमुख श्यामकुमार यादवलगायत सरिक भएका छन् ।