खानेपानी आयोजनाबारे जानकारी लिँदै मन्त्री यादवसहितका अतिथि र अन्य । (तस्बीर : जनार्जन/उज्यालो)
परवानिपुर – जिल्लाको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१६, परवानिपुर तीनघरेमा सौर्य पम्पिङ्ग प्रणालीको माध्यमले ३८० घरधुरीमा खानेपानी पुर्याइएको छ ।
वर्षौदेखि इनार तथा खोलाको दुषित पानी पिउन बाध्य तीनघरेका स्थानीयहरु घरघरमै खानेपानीको धारा आएपछि दंग परेका छन् । जापान सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत निर्मित कृषि प्रविधिसहितको सौर्य पम्पिङ्ग प्रणालीको शुक्रबार दिउँसो (आज) संघीय सरकारका खानेपानी मन्त्री महिन्द्रराय यादवले उद्घाटन गरेका हुन् ।

मन्त्री यादवले पुस्तौँदेखि दुषित पानी पिउन बाध्य तीनघरेका स्थानीयको सक्रियतामा निर्माण भएको खानेपानी आयोजना उद्घाटन गर्न पाउँदा खुसी व्यक्त गरे । उनले सम्वोधनका क्रममा चुरेमा ठूल्ठूला ड्याम तथा पोखरी निर्माण गरी तीनघरेको जस्तैगरी पम्पिङ्ग प्रणालीद्वारा सम्पूर्ण नागरिकलाई खानेपानी खुवाउने सरकारले लक्ष्य रहेको सुनाए । खानेपानी मन्त्री यादवले आगामी वर्षबाट मानव सुचाङ्कको आधारमा बजेट विनियोजन गरिने उल्लेख गर्दै त्यसपश्चात मधेश प्रदेशमा खानेपानीलगायत अन्य आधारभूत आवश्यकता प्राथमिकताका साथ पूरा गर्दै जाने दावी गरे ।

कार्यक्रममा मधेश प्रदेशसभाकी सदस्य बेची लुंगेलीले अहिलेको २१ औँ युगमा समेत सर्लाहीको चुरेभेगका भालुखोप, नारायण खोला, गुइडुङलगायत दर्जनौँ गाउँका मानिसले खोलाको दुषित पानी पिउनु परिरहेको भन्दै संघीय सरकारमार्फत चुरेभेगका प्रत्येक बस्तीमा स्वच्छ खानेपानी पुर्याउनका लागि पहलकदमी चाल्न खानेपानी मन्त्री यादवसँग आग्रह गरिन् । रानजीतिक वृत्तमा सुःख र समृद्धिका कुरा गरिरहँदा यहाँको चुरेभेगका वासिन्दालाई खानेपानी जस्तो आधारभूत कुरा समेत दिन नसक्नु आफूहरु जस्ता जनप्रतिनिधिका लागि लज्जाको विषय भएको प्रदेश सभा सदस्य लुंगेलीको भनाई छ ।
मन्त्री यादवलाई पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले पनि यस क्षेत्रको खानेपानी समस्या समाधान गर्न गम्भीर भईदिन आग्रह गरे । सर्लाही क्षेत्र नं. २ का संघीय सांसद समेत रहेका मन्त्री यादवलाई लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी तथा लालबन्दी १५ र १६ का वडाध्यक्ष क्रमश : गोरखबहादुर बल र गणेशबहादुर थापाले आ–आफ्नो वडाको खानेपानी समस्याबारे ध्यानाकर्षण गराए ।
सोही कार्यक्रमका अवसरमा लालबन्दीका नगरप्रमुख अधिकारीले काठमाडौं विश्व विद्यालयसँग समन्वय गरी परवानिपुरमै कृषि क्याम्पस स्थापनाका लागि पहल भइरहेकाले यसमा सहयोग गरिदिन मन्त्री यादवसँग अनुरोध गरे ।

यूनडीपीको तीन करोड १६ लाख रुपैयाँ लागतमा दुई लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङकीसहित छ महिनाभित्र अन्य संरचना निर्माण गरी खानेपानी आयोजना सम्पन्न गरिएको स्थानीय अगुवा गोविन्द अधिकारीले जानकारी दिए ।
तीनघरेस्थित माध्यमिक विद्यालयको अगाडि ओभरहेड ट्याङकी र विद्यालयदेखि पूर्वतर्फ झरझरा खोला नजिक सौर्य पम्पिङ्ग प्रणाली जडान गरी खानेपानी आयोजना संचालन गरिएको छ । स्थानीय राम्रीमाया थिङले वर्षायाममा ईनारको दुषित पानी पिउनुपर्ने र हिउँदमा त्यही पानी समेत सुक्दा अत्यन्त विकराल समस्या भोग्दै आएका आफूहरु अब भने स्वच्छ खानेपानी पिउन पाउँदा हर्षित भएको बताईन् ।
अर्का स्थानीयवासी एवं वडा सदस्य तिलक घलानले घरघरमै धाराबाट पानी आउँदा स्थानीयको मुहार उज्यालो भएको जानकारी दिए । परियोजनाका संयोजक इन्जिनियर दीनबन्धु झाले दीगो रुपमा खानेपानी आयोजना सञ्चालन गरिराख्न यसैगरी सक्रियता देखाउन स्थानीय वासिन्दासँग आग्रह गरे ।
स्थानीयको घरघरमै खानेपानीको धारा ल्याइदिएपछि स्थानीयले शुक्रबार उद्घाटनको अवसरमा सहयोगी दातृ निकायका प्रतिनिधिलाई कदर–पत्रसहित सम्मान गरेका छन् ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर खत्री (गोविन्द के.सी.) को अध्यक्षता तथा संचारकर्मी वुद्धबहादुर विक (दीपक) को संचालनमा तिनघरे माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।