बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा प्रदेश सरकारका मन्त्रीको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका छन् ।
मधेश प्रदेश सरकारका उर्जा, सिँचाई तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम अजाद चढ्ने गरेको मधेश प्रदेश ०२–००१ झ ०२४० नम्वरको स्कारपियो गाडीले बा ४३ प १२६३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा बरहथवा नगरपालिका ५ बस्ने १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपलिका ५ मोहनपुर बस्ने १८ वर्षीय दीपक महतो र बागमती नगरपालिका–१० शंकरपुर बस्ने १९ वर्षीय अजय महतो घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको वीरगन्जमा उपचार चलिरहेको छ । तीन घाइतेमध्ये १९ वर्षीय अजय महतोको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि गाडीका चालक फरार भएका छन् । बरहथवा प्रहरीले दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको मन्त्री चढ्ने स्कारपियोले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनै जना युवा परसम्म बजारिएका थिए । दुर्घटनापछि चालक र त्यसमा सवार अन्य व्यक्ति गाडी छाडेर फरार भएपछि आक्रोशित स्थानीयले गाडीमा तोडफोड गरेका छन् ।
उक्त गाडी अहिले इलाका प्रहरी कार्यालय बरहथवामा लगेर राखिएको छ ।