यो पुरानो तस्बीर हो ।
हरिपुर – केही दिनदेखि जङ्गली हात्तीले पाकेको धानबाली नष्ट गर्न थालेपछि सर्लाहीको हरिपुर नगरपालिकाका किसान हैरान भएका छन् ।
दुई वटा जङ्गली हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेपछि किसान हैरान भएका हुन् । हात्तीले शनिबार राति मात्रै हरिपुर नगरपालिका–२, सखुवामा स्थानीय किसान इन्द्रबहादुर खड्काको थुपारेर राखेको धान नष्ट गरेको छ ।
त्यस्तै, अर्का किसान केदार थापाको पाक्न लागिसकेको धान माडेर क्षति पु¥याएको स्थानीय ध्रुवप्रसाद प्रसाईले जानकारी दिए । दिनभर नजिकैको जङ्गलमा बस्ने हात्तीले साँझ परेपछि बस्ती तथा किसानको खेतबारीमा पसेर क्षति पु¥याउने गरेको स्थानीयले बताएका छन् ।
जङ्गली हात्ती गाउँ नजिकको जङ्गलमा आएर बसेपछि स्थानीयमा त्रास समेत फैलिएको छ । उनीहरु घाँस, दाउरा गर्न र वस्तुभाउ चराउन जङ्गल जान सकेका छैनन् ।
जङ्गली हात्तीको आक्रमणबाट गएको असोज २३ गते हरिपुर नगरपालिका–१, जानकीनगरमा १४ वर्षीय शिव दाहालको मृत्यु भएको थियो । त्यसयता जङ्गली हात्तीले जानकीनगर र मूर्तियाको वन क्षेत्र छाडेको छैन् ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मञ्जुर अहमदले भाले र पोथी गरी दुईवटा हात्ती केही सातादेखि यस क्षेत्रका वनमा घुमिरहेको बताए । उनले हात्तीको समूह बर्सेनिजसो आफ्नो पुरानो बाटो भएर हिँड्नेक्रममा यहाँसम्म आइपुगेको बताए ।
हात्तीको आक्रमणबाट मानिसको मृत्यु भए तथा नम्वरी जग्गाको बालीनाली क्षति पु¥याउँदा क्षतिपूर्ति पाइने भएकाले नजिकको वन कार्यालयमा निवेदन दिन उनले आग्रह गरेका छन् ।