लालबन्दी – लालबन्दीबाट प्रशारण भइरहेको सामुदायिक रेडियो एकता आइतबारबाट १४ औँ वर्षमा प्रवेश गरेको अवसरमा वृक्षरोपण गरिएको छ ।
रेडियोको कार्यालय अगाडि रहेको सिमसार क्षेत्रको किनारमा आइतबार दिउँसो वृक्षरोपण गरिएको हो । वृक्षरोपणमा लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेल, रेडियोका अध्यक्ष गोविन्द बहादुर महत, संचालक समितिका सदस्य देविबन्धु थापा, रेडियो दर्शन बागमतीका संचालक तथा प्रेस सेन्टर सर्लाहीका अध्यक्ष श्रवण थापा, रेडियोका कर्मचारीलगायत सहभागी भए ।

यस्तै, रेडियोको वार्षिकोत्सवका अवसरमा आइतबार साँझ दीप प्रज्वलन गरिएको रेडियोका पूर्व स्टेशन म्यानेजर जनार्जन खत्रीले जानकारी गराए ।

रेडियोले २०६७ साल कात्तिक १२ गते लालबन्दी नगरपालिका–९, बस्तीपुरबाट प्रशारण आरम्भ गरेको थियो । हाल लालबन्दी नगरपालिका–५, मेजरगन्जमा आफ्नै भवनबाट रेडियो नियमित प्रशारणमा रहेको छ । दैनिक १९ घण्टा प्रशारणमा रहेको रेडियोले बिहान ५, ८ र ११ बजे, दिउँसो २ र ४ बजे तथा बेलुका ६ः३० बजे स्थानीय समाचार प्रशारण गर्दै आइरहेको छ ।
बिहान ८ बजे र बेलुका ६ः३० बजेको समाचार बरहथवा, गोडैता र मलंगवामा रहेका अन्य चार रेडियोबाट समेत एकैसाथ प्रशारण हुने गरेका छन् । रेडियोले ६ वटा स्थानीय समाचारको अतिरिक्त राष्ट्रिय समाचार समेत गरी प्रत्येक घण्टा समाचार, विभिन्न चेतनामूलक र मनोरजनात्मक कार्यक्रम प्रशारण गरिरहेको रेडियोका व्यवस्थापक प्रकाश मैनालीले बताए ।

यस रेडियोले केही महिनाभित्रै टेलिभिजन समेत संचालन गर्ने तयारी गरेको छ ।
रेडियोका अध्यक्ष गोविन्द बहादुर महतले टेलिभिजन संचालन गर्ने गरी यसअघि नै भवन तयार गरिएको र अन्य आवश्यक प्राविधिक तयारीमा जुटिरहेको बताए । उनले रेडियोलाई सफलतापूर्वक १४ वर्षसम्म ल्याइपुर्याउन सहयोग गर्ने शेयर सदस्य, कर्मचारी, विज्ञापनदाता, श्रोता र सम्पूर्ण शुभेच्छुकप्रति धन्यवाद् ज्ञापन गरेका छन् ।
रेडियोका उपाध्यक्ष विनोदकुमार थापाले अब रेडियो र टेलिभिजन सँगसँगै अगाडि बढाइने बताएका छन् ।