पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी चोक । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीमा दशैँ मनाउन गाउँघर आएकाहरु धमाधम कार्यस्थलतर्फ फर्किन थालेका छन् ।
पूर्व–पश्चिम राजमार्गसहित अन्य सडकमा सवारीको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले पूर्व–पश्चिम राजमार्गमा मानिसको आउजाउ र सवारीको चाप बढेको जानकारी दिए ।
दशैँ मनाउन संघीय राजधानी काठमाडौंसहित देशका प्रमुख सहरबाट घर आएकालाई अहिले कार्यस्थल फर्किने चटारो परेको हो । विशेष गरी काठमाडौं जाने सवारीमा यात्रुको अत्यधिक चाप देखिन्छ ।
यहाँको बागमती, नयाँरोड, हरिवन, नवलपुर, लालबन्दी, रानिगञ्जलगायत मुख्य चोक र भित्री बस्तीबाट छुट्ने सवारीमा यात्रुको चाप बढेको हो । दशैँअघि काठमाडौंबाट यात्रु ल्याउन दोहोर ‘टिप’ गरेका गाडीले अहिले यताबाट यात्रु लैजान भ्याइरहेका छैनन् ।
बिहान ३÷४ बजे नै यताबाट यात्रु लिएर जाने गाडी दिउँसो पुनः यहीँ आएर भोलीपल्ट यात्रु लिएर जाने गरेका छन् । दशैँ मनाउन अधिकांश गाउँ आउँदा केही दिन चहलपहल बढेको थियो । अहिले फेरि गाउँघर विस्तारै सुनसान बन्न थालेको लालबन्दी नगरपालिका–१७, रानिगञ्जका गोपाल अधिकारीले बताए ।
अधिकांश विद्यालय तथा क्याम्पस छठपछि मात्रै खुल्ने भएकाले विद्यार्थीहरु भने छठसम्म गाउँघरमै बस्ने भएका छन् ।