हरिवन – सर्लाहीको हरिवन नगरपालिका–३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।
स्थानीय ३५ वर्षीय गोकर्ण मैनालीले घरायसी विवादमा कोदालो प्रहार गरी बुवा ८१ वर्षका ओमप्रसाद मैनालीको हत्या गरेका हुन् । बुधबार राति गोकर्णले कोदालो प्रहार गर्दा ओमप्रसाद गम्भीर घाइते भएका थिए ।
ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन ल्याए । यहाँ उपचार सम्भव नभएपछि उनलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरिएकोमा उपचारकै क्रममा राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनायो ।
बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हरिवन नगरपालिका–४, तिनघरे लच्का क्षेत्रमा हिँड्डुल गरिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताए ।
इन्स्पेक्टर गिरीका अनुसार घटनाको सम्वन्धमा थप अनुसन्धान जारीे छ । बुवाको हत्यामा संलग्न गोकर्ण ओमप्रसादका माईलो छोरा हुन् ।
भारतमा बसेर मजदुरी गर्ने गोकर्ण दशैँ मनाउन भनी घर आएका थिए । उनी अविवाहित हुन् ।