लालबन्दी – सर्लाहीको पूर्व–पश्चिम राजमार्गका पेट्रोल पम्पमा आज मोटरसाइकलसहित अन्य सवारीमा पेट्रोल भर्नेको भीड लागेको छ ।
दशैँको बेला अधिकांश पेट्रोल पम्प बन्द भई आजबाट खुलेका र नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट पनि आजदेखि मात्रै पेट्रोल आपूर्ति हुन थालेकाले पेट्रोल भर्नका लागि भीड बढेको राम छविला आयल स्टोर लालबन्दीका सञ्चालक पवनकुमार साहले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गका लालबन्दी, रानिगञ्ज, हरिवन, नयाँरोड, बागमतीलगायत ठाउँका पेट्रोल पम्पमा तेल भर्नेको लाईन लागेको हो । दशैँको समयमा वर्षेनि पेट्रोल पम्पमा यस प्रकारको भीड लाग्ने गरेको छ । पेट्रोल पम्प सञ्चालक साहले आजदेखि नियमित आपूर्ति हुन थालेकाले अब पेट्रोल सहजै वितरण हुने बताए ।
दशैँ सक्किनै लाग्दा अहिले पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा मोटरसाइकल, कार, जीपजस्ता सवारीको चाप समेत बढेको छ । टीका लगाउन हिँड्ने तथा राजधानी काठमाडौंसहित अन्य सहरमा फर्किनेले पनि यतैबाट पेट्रोल भरेर जाने भएकाले पेट्रोल पम्पमा भीड बढेको बताइएको छ ।