logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शान्त बन्यो मलंगवा, हिजो प्रहरीद्वारा १६ शेल अश्रुग्यास प्रहार


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा शान्त बनेको छ ।

हिजो दिउँसोपख दुर्गा पूजाको मूर्ति विर्सजन गर्नेक्रममा विवाद भएको थियो । मलंगवास्थित जिविस चोकमा गरिएको दुर्गा पूजाको मूर्ति अघिल्ला वर्षहरुमा प्रयोग गरिएको बाटो हुँदै सेलाउनका लागि लैजान पाउनुपर्ने माग गरी युवाहरुले प्रदर्शन गर्दा केहीबेर प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा प्रहरीले १६ शेल अश्रुग्यास प्रहार गरेको छ ।

युवाको जमातबाट ढुंगामुढा प्रहार हुँदा घाइते भएका एक जना प्रहरी जवानको अहिले पनि वीरगन्जमा उपचार चलिरहेको प्रहरीले जनायो । झडप लगत्तै थप प्रहरी परिचालन गरी साँझ ६ बजेसम्ममा मूर्ति विर्सजन कार्य सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

सर्लाही प्रहरीका सूचना अधिकारी समेत रहेका डीएसपी दीपेन्द्र पन्जियार थारुले गएरातिबाटै मलंगवाको अवस्था सामान्य बनिसकेको जानकारी दिए । उनका अनुसार मलंगवाको जिविस चोक, शिवसागर चोक, नगरपालिका चोकसहित जिल्लाभर ७४ स्थानमा दुर्गा पूजा भएका छन् ।

जिविस चोकबाहेक अन्य स्थानमा शान्तपूर्वक मूर्ति सेलाउने काम भएको डीएसपी थारुले बताए । बारम्बार तनाव भएकाले प्रहरीले सदरमुकाम मलंगवामा उच्च सुरक्षा सतर्कता अपनाएको थियो ।