नारायणखोलाबाट झोलुङ्गोमा हालेर पत्थरकोटतर्फ ल्याइँदै गरेको गर्भवती । (तस्बीर : उज्यालो अभियान)
हरिवन – प्रमुख पर्व दशैँकै बेला सर्लाहीमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
जिल्लाका २० वटै पालिकामा ज्वरोको सङ्क्रमण बढेको पालिकाको स्वास्थ्य शाखाले जनाएका छन् । चिकित्सकका अनुसार एक महिना अघिदेखि ज्वरोको बिरामी देखा पर्न थालेकोमा अहिले दशैँको बेला झन बढ्न थालेका हुन् । परिवारमा एक जना सदस्यमा ज्वरो देखिएपछि अधिकांशमा सर्ने गरेको छ ।
चिकित्सक देवेन्द्र झाले भाइरल ज्वरो सरुवा रोग भएको बताए । ज्वरो आएपछि कतिपय एक सातासम्म नै बिरामी पर्ने गरेका छन् । चिकित्सक झाले भाइरल ज्वरोको सङ्क्रमणले कमजोर पार्ने भएकाले झोलिलो तथा शक्तिवद्र्धक खानेकुरा पर्याप्त खानुपर्ने बताए ।
उनले चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य परीक्षण गराइ औषधि सेवन गर्दा ज्वरो कम हुँदै जाने भएकाले नआत्तिन आग्रह गरे । जिल्लामा केही सातादेखि निजी तथा सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न पुग्ने बिरामीमध्ये अधिकांश ज्वरोकै बिरामी हुन्छन् ।
बिरामीका अत्यधिक ज्वरो आउने, शरीर कमजोर हुने, घाँट दुख्ने, रुघाखोकीलगायत लक्षण देखिने गरेको चिकित्सकले बताएका छन् । अहिले गर्मी कम भई चिसो पस्दै गएकाले पनि मौसम परिवर्तनले गर्दा मानिस बिरामी पर्न थालेका छन् ।
दशैँकै बेला ज्वरोले थलिएपछि कतिपय परिवारमा दशैँको तयारी नै प्रभावित बनेको छ । हरिपुर नगरपालिका–२, सखुवाका विजय थिङले गाउँमा अहिले ज्वरोको प्रकोप बढेको उज्यालो अभियानसँग बताए ।
थिङका अनुसार गाउँका अधिकांश ज्वरोका बिरामीले नवलपुर, हरिवनलगायत स्थानका स्वास्थ्य संस्थामा पुगेर उपचार गराएका छन् ।