logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका बजारमा दशैँको किनमेल गर्नेको भीड कायमै, घर फर्किनेको पनि लर्को


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीका बजारमा दशैँको किनमेल गर्नेको भीड कायमै छ ।

जिल्लाको सबैभन्दा ठूलो लालबन्दी बजारमा हिजो शुक्रबार पनि दिनभर किनमेल गर्नेको अत्यधिक चहलपहल देखियो । विशेष गरी कपडा लाईनमा सर्वसाधारणको अत्यधिक भिड देखिन्थ्यो ।

लालबन्दी बजार जिल्लाको आधा दर्जन बढी पालिका र छिमेकी जिल्ला सिन्धुलीको मरिण अनि महोत्तरीको बर्दिवास र गौशाला क्षेत्रका वासिन्दाको पनि किनमेल गर्ने बजार हो । त्यसैले पनि यहाँ केही दिनदेखि किनमेल गर्नेको भीड छ ।

अरुबेला व्यापार नभएको भन्ने व्यापारीले यो बेला केही राहत महसुस गरेका छन् । कपडाबाहेक अन्य सरसामग्रीको भने उल्लेख व्यापार नभएको गुनासो अझै सुनिन्छ । विशेष गरी आर्थिक मन्दीका कारण पैसा नभएको गुनासो गर्ने सर्वसाधारण पनि धेरै भेटिन्छन् । आम मानिसको किनमेल गर्ने क्षमता घटेको पाइन्छ ।

लालबन्दीसँगै राजमार्ग क्षेत्रका नवलपुर, हरिवन, नयाँरोड, बागमतीसहित भित्री बजार बयलवास र बरहथवामा पनि दशैँको किनमेल गर्नेको चहलपहल छ । आज बजारको दिन परेको बयलवास र हरिवनमा भीडभाड हुने अनुमान छ । यस्तै, दशैँ मनाउन काठमाडौंबाट घर आउनेको लर्को कायमै छ ।

अझ अब आज फूलपातीदेखि सरकारी कार्यालय बन्द भएकाले गाडीमा मानिसको भीड अझै बढ्ने अनुमान छ । दशैँ मनाउन धेरै मानिस गाउँ आएकाले यहाँको ग्रामीण भेगमा चहलपहल बढेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।