मलंगवा – दुर्गा पूजाको मूर्ति विर्सजनलाई लक्षित गरी सदरमुकाम मलंगवामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
पछिल्लो केही समय दुई पक्षबीचको तनावका कारण बारम्बार कफ्र्यु र निषेधाज्ञा लगाउनु परेको मलंगवामा प्रहरीले कडा सुरक्षा पहरा दिन थालेको हो । दुर्गा पूजाको मूर्ति विर्सजन गर्ने दिन नजिकिँदै गर्दा सुरक्षा व्यवस्था थप चुस्त पारिएको जिल्लाका सुरक्षा अधिकारीले बताएका छन् ।
सदरमुकाम मलंगवामा दुर्गा पूजा आयोजक समितिले दिनहुँजसो कलश यात्रा र र्याली निकालिरहेको छ । त्यसमा पनि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएर सुरक्षा दिने गरिएको छ । अब पूजाको मूर्ति विर्सजन गर्ने दिन नजिकिँदै गरेकाले थप सुरक्षा सतर्कता बढाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
दुर्गा पूजाको मूर्ति विजयादशमीको भोलीपल्ट अर्थात् कात्तिक ८ गते विर्सजन गरिँदै छ । आज (शनिबार) जिल्ला प्रशासन कार्यालयमा दुर्गा पूजा समितिका पदाधिकारीसँग जिल्लास्थित सुरक्षा प्रमुखहरुले मूर्ति विर्सजनका विषयमा छलफल गरेका छन् ।
छलफलले पूजा समितिको समन्वयमा सुरक्षा निकायबाट निर्धारित रुट प्रयोग गरी मूर्ति विर्सजन अर्थात् जल प्रवाह गर्नेक्रममा उत्पन्न हरेक असहज परिस्थितिको पूर्ण जिम्मेवारी सम्वन्धित पूजा समितिको हुने उल्लेख छ । विशेष परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको दूर्गा पूजाको मूर्ति विर्सजनको क्रममा ३ वटा रुट प्रयोग गर्ने सहमती भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए ।
सहायक सीडीओ घिमिरेका अनुसार यो वर्ष पहिलेका वर्षहरुको रुट परिवर्तन गरी जिविस तिन बिघे मैदान, नगरपालिका चोक र शिवसागर चोक भएर निकालिने दुर्गा पूजा विर्सजन ¥याली निर्धारित रुट हुँदै मलंगवा नगरपालिका वडा नं. ४ शिवसागर चोकस्थित वडा कार्यालय नजिकको पोखरीमा लगेर टुंग्याउने निर्णय भएको छ । कात्तिक ८ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेभित्र मूर्ति विर्सजन कार्यक्रम सक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
मूर्ति सेलाउनेक्रममा सहभागी हुनेलाई पूजा समितिले अनिवार्य रुपमा नाम÷फोटोसहितको ब्याच उपलब्ध गराई लगाउने व्यवस्था मिलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख र मेला समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
यस्तै, प्रहरीले जिल्लाको अन्य स्थानमा भएको दुर्गा पूजास्थलमा पनि सुरक्षा पहरा दिइरहेको जनाएको छ ।