logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी बजारमा बिहीबार दिनभर कपडाको अत्यधिक करोवार


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा बिहीबार कपडाको अत्यधिक कारोवार भएको छ ।

दशैँको अन्तिमतिरको बजार भएकाले बिहीबार दिनभर यहाँको कपडा पसल अत्यधिक ‘प्याक’ देखिन्थे । अरु दिन व्यापार नै नभएको गुनासो गरेका कपडा व्यापारीले बिहीबार भने लाखौँको कपडा बिक्री गरेका छन् ।

गाउँ–गाउँबाट आएका स्थानीयले दशैँका लागि नयाँ लुगाफाटो किनेर लगेका छन् । बिहीबार मरमसला, खाद्यान्न र दशैँका लागि आवश्यक पर्ने अन्य वस्तुको पनि राम्रै व्यापार भएको छ ।

बिहीबार बिहानभर लालबन्दीको खसिबोका बजारमा पनि अत्यधिक भिडभाड देखिन्थ्यो । अन्य दिनको तुलनामा बिहीबार खसिबोका धेरै बिक्री भएका छन् । तर, यस वर्ष खसिबोका धेरै नै सस्तो हुँदा किसान मारमा परेका छन् ।

सस्तोमा बिक्री गर्दा लगानी र हैरानी समेत नउठ्ने भन्दै बिहीबार पनि धेरैले खसिबोका बिक्री नगरी घर फर्काएर लगेका छन् । खसिबोका बिक्री नहुँदा धेरै विपन्न परिवारलाई दशैँको खर्च जुटाउनै मुस्किल परेको छ ।

आर्थिक मन्दीको प्रभाव खसिबोका बजारमा पनि देखिएको छ । दशैँको मुख्य दिन नजिकिँदै गर्दा यहाँको बजारदेखि गाउँघरसम्म नै चहलपहल समेत बढ्दो छ ।

संघीय राजधानी काठमाडौंबाट धमाधम घर, गाउँ आउनेहरुको लर्को छ । गाडीलाई काठमाडौंबाट यात्रु ओसार्न भ्याईनभ्याई नै परिरहेको छ ।

सर्वसाधारणलाई दशैँ खर्च जुटाउनेदेखि सरसफाईलगायतको चटारो छ ।