बरहथवा – सर्लाहीको बरहथवामा बसपार्क निर्माण भएको वर्षौपछि बल्ल सञ्चालनमा ल्याइएको छ ।
संघीय सरकारको लगानीमा पाँच/छ वर्षअघि बरहथवा नगरपालिका–७ मा निर्माण गरिएको बसपार्क आज (बुधबार) बाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । नगरप्रमुख कल्पनाकुमारी कटुवालले बसपार्कको उद्घाटन गरेकी छन् ।
वभिन्न अल्झनका कारण निर्माण भएको वर्षौसम्म बसपार्क सञ्चालनमा आउन सकेको थिएन । बरहथवा बजारमा यसअघि सडकमै बस पार्किङ गरिँदै आएको थियो । अब बसपार्कमै बस पार्किङ हुने र छुट्ने भएपछि बजारको बीचमै सडक ढाकेर बस राख्नुपर्ने बाध्यता टरेको छ ।
नगरप्रमुख कटुवालले बाँकी केही संरचना निर्माणको काम पूरा गरेर बसपार्क सञ्चालनमा ल्याइएको जानकारी दिईन् । बसपार्कभित्र शौचालय र यात्रु प्रतिक्षालय समेत निर्माण गरिएको छ ।
केही महिनाअघि मलङ्गवा नगरपालिकाले पनि व्यवस्थित बसपार्क निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।