मलंगवा – ६८ औँ प्रहरी दिवस आज (मंगलबार) सर्लाहीमा पनि मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा बिहान विभिन्न कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो । अमर प्रहरीको स्मारकमा माल्यार्पण, मातहतका विभिन्न प्रहरी युनिटका लागि जग्गा प्रदान गर्ने जग्गादाता र अमर प्रहरीका परिवारलाई सम्मान, निवन्ध प्रतियोगिताका बिजेता विद्यार्थीलाई पुरस्कार वितरणलगायतका कार्यक्रम गरी प्रहरी दिवस मनाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।
कार्यक्रममा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, विभिन्न सुरक्षा निकायका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि, पूर्व प्रहरी, अमर प्रहरीका परिवारलगायत सहभागी भएका जिल्ला प्रहरी कार्यालयले जनायो । प्रहरी निरीक्षक संगिता पाण्डेको संचालन तथा डीएसपी थारुको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।
सहभागीलाई भर्खरै जिल्लामा हाजिर भएका जिल्ला प्रहरी प्रमुख (एसपी) प्रवीण धितालले धन्यवाद् ज्ञापन गरे । प्रहरी दिवसकै अवसरमा यसअघि मातहतका विभिन्न प्रहरी युनिटमार्फत जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको सरसफाई गरिएको थियो ।