लालबन्दी – दशैँ सुरु भएसँगै सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग र पुलका खाल्डाखुल्डी मर्मत गर्न थालिएको छ ।
यो बेला सवारी साधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गमा रहेका खाल्डाखुल्डीका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गरी पुल र सडकमा रहेका खाल्डाखुल्डी पुर्न थालिएको हो । सडक डिभिजन चन्द्रनिगाहपुरले खाल्डाखुल्डी पुर्नका लागि सर्लाही खण्डको पूर्व बाँके पुलदेखि पश्चिम बागमती पुलसम्म कर्मचारी तथा कामदार परिचालन गरिएको जनाएको छ ।
राजमार्गको सर्लाही खण्ड हेर्ने जिम्मेवारी पाउनुभएका पुण्यप्रसाद खतिवडाले बाँके, फूलजोर, लखन्देहीलगायत पुल र राजमार्गका विभिन्न ठाउँमा रहेका खाल्डाखुल्डी पुर्ने काम धमाधम चलिरहेको जानकारी दिए । उनका अनुसार यो वर्ष अघिल्ला वर्षहरुमा झैँ पूर्व–पश्चिम राजमार्गमा खासै खाल्डाखुल्डी छैनन् ।
केही ठाउँमा भएका खाल्डाखुल्डी एक÷दुई दिनमै मर्मत गरिने उहाँले बताउनुभयो । सडक डिभिजन चन्द्रनिगाहपुरले केही समयदेखि धराप अवस्थामा रहेको फूलजोर खोलाको पुलमा रेलिङ हाल्ने काम भने टेण्डर प्रक्रियामै गएकाले ढिलाई भएको जनाएको छ ।
अमानतमा कार्यालय आफैले पुलको रेलिङ हाल्ने काम गर्दा महँगो पर्ने भएकाले अब ठेकेदारमार्फत नै रेलिङ हाल्ने काम हुने खतिवडाले बताए ।
केही समयअघि यात्रुबाहक बस पुलको रेलिङ नै भत्काएर खोलामा खसेदेखि सो पुलमा रेलिङ मर्मतको काम हुन सकेको छैन् । दुई वटा स्पानमा रेलिङ नै नहुँदा पुलबाट पैदल यात्रु तथा वस्तुभाउ खस्ने जोखिम रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्ने गरेका छन् ।