लालबन्दी – दशैँ नजिकिएसँगै सर्लाहीमा खसीबोकाको व्यापार सुरु भएको छ ।
किसानले गाउँ–गाउँबाट खसीबोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् । वर्षभरी पालेको खसीबोका बेचेरै किसानले दशैँ, तीहारजस्ता मुख्य चाडपर्वको खर्च टार्ने गरेका छन् ।
लालबन्दी नगरपालिका–१३, नारायण डाँडाका किसान बलबहादुर थिङले खसीबोका बेचेरै बर्सेनि दशैंँको खर्च टार्दै आइरहेको उज्यालो अभियानसँग बताए । उनले सोमबार पानी परेकाले खसीबोका किनबेच प्रभावित भएको सुनाए ।
जिल्लाको लालबन्दी, हरिवन, बयलवास, बरहथवालगायतका बजारमा हाटबजार लागेको दिन खसीबोकाको उल्लेख्य व्यापार बढेको हो । खसीबोका किन्न व्यापारी आफै पनि किसानको घर–घरमै पुग्ने गरेका छन् ।
सर्लाहीमा उत्तरी चुरेभेगमा व्यावसायिक रुपमा बाख्रापालन हुने गरेको छ । वर्षभरी पालेको खसीबोका बेचेर किसानले यो दशैँको समयमा ५०/६० हजार रुपियाँदेखि लाख रुपियाँ भन्दा बढी आम्दानी गर्छन् ।
खसी व्यापारी चुल्हाइ रायले गाउँ–गाउँका किसानबाट खरिद गरेर ल्याएको खसीबोका बजारमा ल्याइ बिक्री गर्न थालिसकिएको बताए । व्यापारीका अनुसार दशैँको महाअष्टमीको दिनसम्म नै खसीबोकाको राम्रो व्यापार हुन्छ ।
जिल्लाबाट काठमाडौंलगायत देशका प्रमुख शहरमा समेत यो दशैँमा खसी, बोका लैजाने गरिएको छ ।