logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पसाउने बेलाको धान बाली सुक्यो, किसान चिन्तित


  • उज्यालो अभियान

लालबन्दी – केही दिनदेखि टन्टलापुर घाम लागेर धान बाली सुक्न थालेपछि सर्लाहीका किसान चिन्तित बनेका छन् ।

पसाउने बेला भएको धानलाई अहिले पानीको खाँचो छ । तर, २/४ दिनदेखि घाम चर्किएर सुक्खापन थप बढेको छ । अहिलेको यो घामले धान बाली सुकाएर उत्पादनमै असर पर्ने चिन्ता किसानमा परेको छ ।

आकाशे पानीबाहेक अन्य विकल्प नरहेको क्षेत्रमा धान बाली सुकेर गइरहेको छ । धान पसाउने बेला झरीको आश गरेका किसान टन्टलापुर घाम र चर्को गर्मीबाट चिन्तित बनेका छन् ।

सिँचाई सुविधा भएकै ठाउँका किसानले समेत जति पानी पटाए पनि आकाशे वर्षाजस्तो नहुने बताएका छन् । यस्तै, मध्य असोजसम्म आइपुग्दा समेत उखरमाउलो गर्मी खेपिरहेका यस क्षेत्रका स्थानीयले आश्चर्य मानिरहेका छन् ।

यो वर्ष वर्षा नै कम भएको र चिसो पस्ने समयमा समेत टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित भइरहेको छ । यस क्षेत्रमा केही दिनदेखि दिउँसोपख बाहिर निस्कनै नसक्ने गरी चर्को घाम लागेर हपक्क गर्मी भइरहेको छ ।

आज पनि बिहानैदेखि टन्टलापुर घाम लागेर अत्यधिक गर्मी भइरहेको छ ।