हरिपुर – सर्लाहीमा विपन्न परिवारका अधिकांश महिला अहिले खोला किनारमा काँस काट्न ब्यस्त देखिएका छन् ।
यहाँको ग्रामीण भेगका महिला नजिकिँदै गरेको चाडपर्वमा प्रयोग गर्ने ढाकीलगायतका सामग्री बुन्न तथा भ्रmुप्रो घर छाउनका लागि खोला किनारमा आफै उम्रिएका काँस काट्न ब्यस्त भएका हुन् । कमजोर आर्थिक अवस्था भएका दलित तथा मुस्लिम समुदायका महिला जिल्लाको फूलजोर, कालिञ्जोर, बाँके, लखन्देही, बागमतीलगायत खोलामा काँस काटिरहेका भेटिन्छन् ।
लखन्देही खोलामा काँस काट्दै गर्दा भेटिनुभएकी जिल्लाको हरिपुर नगरपालिका–२, निवासी पानवती माझीले छठमा चोखो सामग्री राख्न काँसको ढाकी बनाएर प्रयोग गर्दै आइरहेको बताए । माझीका अनुसार फोहोरमैला बढार्ने कुचो बनाउन पनि काँसको प्रयोग गरिन्छ ।
कतिपय महिलाले ओत लाग्ने बाध्यताका कारण काँसको सहारा लिनुपरेको बताएका छन् । खपडा वा टायलले घर छाउन नसकेका विपन्न तथा दलित परिवारले वर्षेनि काँस काटेर घरको छानो छाउँदै आएका छन् ।
दक्षिणी भेगको गाउँका कतिपय स्थानीय उत्तरी भेगसम्म टायरगाडा तथा ट्याक्टर नै ल्याएर काँस काटेर लाने गरेका छन् । हरिवन नगरपालिका–५, घुर्कौलीका वडाध्यक्ष नागेन्द्रकुमार साहले लखन्देही खोला किनारमा काँस काट्नेको दैनिक चहलपहल देखिने गरेको बताए ।
वडाध्यक्ष साहका अनुसार गाउँका विपन्न परिवारका महिलाले वर्षेनि खोला किनारमा उम्रिने काँस काटेर घर तथा बेरा छाउने, ढाकी, कुचोलगायतका सामग्री बनाउँदै आएका बताए ।
कालिन्जोर खोला किनारमा काँस काटेर बसिरहेका महिला । ( तस्बीर : उज्यालो अभियान)